कृषि उद्यमशीलतामा अग्रणी बन्दै साना किसान कृषि सहकारी (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१० फागुन २०८२
कृषि उद्यमशीलतामा अग्रणी बन्दै साना किसान कृषि सहकारी (भिडियो रिपोर्ट)

काठमाडौं, १० फागुन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ को भोटेचौर । यो ठाउँ प्राकृतिक एवं पर्यावरणीय रूपमा जति सुन्दर छ, कृषि तथा पशुपालनमा पनि उत्ति नै परिचित छ ।

सूर्योदयसँगै दुहेको गाईंको दूध, बारीमा लहलहाएका फलफूल तथा सागसब्जी, अनि उत्पादित कृषि उपज लिन घरआँगनमै सहकारी संस्थाको गाडी आइपुग्दा किसानका अनुहारमा देखिने मुस्कान । यो दृश्य अहिले मेलम्ची आसपासका गाउँमा सामान्यजस्तै भइसकेको छ । यही परिवर्तनको केन्द्रमा छ– सूर्यमुखी साना किसान कृषि सहकारी संस्था । यस सहकारीमा जोडिएपछि यहाँका किसानको दैनिकी मात्र होइन, जीवन स्तर नै बदलिएको छ । यहाँका किसानका लागि कृषि पेसा पहिले निर्वाहमुखी मात्र थियो, आज योे आत्मनिर्भरता र आत्मसम्मानको आधार बनेको छ ।

यस सहकारीका सदस्यहरूले संस्थाबाट कर्जा मात्र होइन, बजारीकरणमा समेत बलियो साथ पाएका छन् । आफूहरूले उत्पादन गरेका कृषि उपज सहकारीले नै संकलन तथा विक्री गरिदिने भएकाले किसानलाई बजारको कुनै चिन्ता छैन ।

२०५३ सालमा उज्यालोकिरण सहकारीका रूपमा स्थापित यो संस्था २०६८ सालमा स्तरोन्नति भएर साना किसान कृषि सहकारी संस्थामा परिणत भएको थियो । उत्पादित वस्तुको बजारीकरणसँगै कृषि क्षेत्रको आधुनिकीकरण र विविधीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने संस्थाको उद्देश्य रहेको अध्यक्ष मित्रलाल चौलागाईं बताउनुहुन्छ ।

२ लाख ३५ हजार पुँजी र ६७ जना शेयर सदस्यबाट शुरू भएको संस्था आज ५० करोड रुपैयाँको वार्षिक कारोबार गर्ने अवस्थामा पुगेको छ । हाल संस्थामा ३ हजार शेयर सदस्य छन्, जसमध्ये ६० प्रतिशत महिला छन् । बाल बचत, खुत्रुके बचत र ज्येष्ठ नागरिकसमेत गरी ४ हजार ५०० सदस्य आबद्ध छन् । संस्थाले साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्दै आएको छ । संस्थाले विशेषगरी तरकारी, फलफूल, पशुपालन र कुखुरापालनमा कर्जा लगानी गर्दै आएको छ । व्यवसायको आकार र प्रकृति हेरेर ५० लाखसम्म ऋण दिने व्यवस्था छ । हाल विनाधितो २ लाख रुपैयाँसम्म ऋण दिइन्छ ।

सूर्यमुखी सहकारी आफैले कृषि उत्पादन पनि गर्दै आएको छ । संस्थाले मेलम्ची नगरपालिका–१ मा ५४ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र पशुपालन गरेको छ । कृषि आधुनिकीकरणका लागि थोपा सिँचाइ, अटोमेसन र हाते ट्र्याक्टर जस्ता प्रविधि प्रयोग गरिएको छ । संस्थाले डेरी र एग्रोभेट पनि सञ्चालन गरेको छ । सिन्धुपाल्चोकको भोटेचौरमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा डेरी पसल सञ्चालन गरेको छ ।

संस्थाले आफ्नो सदस्यलाई कर्जा दिएपछि त्यसको सदुपयोग भए–नभएको विषयमा नियमित अनुगमन पनि गर्छ । आगामी दिनमा गुणस्तरीय कृषि उत्पादनमा जोड दिने, सहज रूपमा कर्जा विस्तार र गाउँका बाँझो जमिन उपयोगमा ल्याउने संस्थाको योजना छन् ।

सानो उमेरमै विवाह । किशोरावस्थामै जिम्मेवारीको भारी बोकेर घरायसी काममा खुम्चिएको जीवन, जहाँ भविष्यको सपना देख्ने फुर्सद समेत थिएन । सामान्य पारिवारिक अवस्थासहित भक्तपुरबाट करिब १५ वर्षअघि ललितपुरको लेले आएकी गीता खत्रीको जीवन थप चुनौतीपूर्ण बन्यो । एक जनाको कमाइले परिवार धान्न, बच्चा पढाउन, खान, कोठाभाडा तिर्न मुस्किल थियो ।

२०६८ सालमा लेले आएपछि गिताले एक रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरू गरिन् । राम्रो आम्दानीको आशाले कुखुरापालन र केही समय गाईपालन पनि गरिन् । तर त्यो पनि उनका लागि अनुकूल भएन । उद्यम व्यवसायका उनका धेरै प्रयास असफल भए । तर पनि हार मानिनन् । यही क्रममा गाउँमा सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरू आए । सहकारीको अवधारणा, ऋण सुविधा र तालिमबारे जानकारी दिए । त्यसपछि उनले यस सहकारीको सदस्य बन्ने निर्णय गरिन् ।

सहकारीको सदस्य बनेपछि सहकारीबाट ऋण लिएर उनले पूर्णरूपमा गोलभेँडा खेती गर्ने योजना बनाइन् । थप १० रोपनी जग्गा भाडामा लिएर सहकारीकै सहयोगमा चारवटा टनेल बनाइन् । गोलभेँडाको उत्पादन राम्रो हुन थाल्यो, आम्दानी बढ्दै गयो । यसले उनको आत्मविश्वाससँगै सपना पनि ठूला हुँदै गए । मुनाफा बढ्न थालेपछि उनले खेती विस्तार गरिन् ।

गीताले उनी २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गरिरहेकी छन्, जसमध्ये १२ रोपनीमा गोलभेडा र बाँकी क्षेत्रमा सिजनअनुसार काउली, साग, काक्रो, लौका, घिरौंला, प्याज, लसुनलगायत तरकारी लगाइन्छ । सहकारीबाट हाल उनले २५ लाख रुपैयाँ चलाइरहेकी छन् । उनको वार्षिक आम्दानी १६–१७ लाख रुपैयाँ हाराहारीमा छ । सबै खर्च कटाएर ५ लाख बचत हुने गरेको छ ।

तरकारीखेतीकै आम्दानीले उनी एउटा घडेरी जोड्न समेत सफल भएकी छन् । यस सहकारीमा आबद्ध भएपछि उनलाई अन्यत्र ऋण खोज्नुपरेको छैन । तरकारीखेतीमा परिवारको ठूलो साथ पाएकी उनले कामको चापअनुसार स्थानीयलाई पनि रोजगारी दिने गरेकी छिन् । उत्पादित तरकारी विक्रीका लागि उनलाई बजारको समस्या छैन । विगतलाई सम्झँदा उनी आफ्नो आर्थिक अवस्थामा धेरै ठूलो परिवर्तन देख्छिन् । यसको ठूलो श्रेय उनी सूर्यमुखी साना किसान कृषि सहकारी संस्थालाई दिन चाहन्छिन् ।

गीताले यस संस्थाबाट लिएको कर्जाको किस्ता नियमित तिरिरहेकी छिन् । कर्जालाई उपयुक्त उद्यम व्यवसायमा लगाएमा सफल हुन सकिने उनको अनुभव छ । उनले वित्तीय कारोबार गर्ने उज्यालोकिरण साना किसान सहकारीले विशेषगरी पशुपालन, माछापालन, तरकारीखेती र पसल व्यवसाय सञ्चालनका लागि संस्थाले कर्जा प्रवाह गरिरहेको छ ।

अभाव, असफलता र चुनौतीका बीच पनि हार नमान्ने गीता खत्रीको संघर्ष आज उद्यमशीलतामा परिणत भएको छ । विपन्नताको अँध्यारो चिर्न उनले जसरी आफूलाई व्यावसायिक तरकारीखेतीमा स्थापित गरिन्, आम कृषक– त्यसमा पनि तरकारीखेतीमा भविष्य खोज्नेहरूका लागि उनको उद्यमशीलता प्रेरणाको स्रोत बन्न सक्छ । बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस