शेयर किन्न अब ब्रोकरले दिनेछन् उधारो सुविधा (भिडियो रिपोर्ट)

अनलाइनसमय |
८ फागुन २०८२
शेयर किन्न अब ब्रोकरले दिनेछन् उधारो सुविधा (भिडियो रिपोर्ट)

काठमाडौं, ८ फागुन । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ । यससँगै अब धितोपत्र ब्रोकरहरूले तोकिएको मार्जिन लिई लगानीकर्तालाई कारोबारको सुविधा दिन पाउनेछन् । नयाँ निर्देशिका अनुसार शेयर लगानीकर्ताले एक वर्षसम्मको मार्जिन कारोबार सुविधा पाउनेछन्, जुन नवीकरण गर्न मिल्नेछ । धितोपत्र बजारमा सेयर खरिद गर्दा निश्चित प्रतिशत रकम मात्र आफैले भुक्तानी गरी बाँकी रकममा ब्याज तिर्नेगरी उधारो सुविधा लिएर गरिने कारोबारलाई मार्जिन कारोबार भनिन्छ । यो बैंक तथा वित्तीय संस्थाबाट पाइने शेयरधितो कर्जाभन्दा फरक हुन्छ । यसमा लाग्ने ब्याजदर धितोपत्र ब्रोकर र लगानीकर्ताबीच आपसी समझदारीमा तय गरिन्छ ।

कस्ता कम्पनी मार्जिन कारोबारका लागि योग्य ?
मार्जिन कारोबार व्यवस्थित र सुरक्षित बनाउन धितोपत्र बोर्डले सूचीकृत कम्पनीका लागि विभिन्न मापदण्ड तोकेको छ, जसअनुसार कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयरमा मात्र मार्जिन सुविधा पाइनेछ । त्यस्तै, नेटवर्थ चुक्ता पूँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा आर्जन गरेको र आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा हुनुपर्नेछ ।

नयाँ निर्देशिका अनुसार तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरलाई सेयर बिक्री गरी आफ्नो लगानी उठाउने अधिकार हुनेछ । यस्तै मार्जिन कारोबार खाता, छुट्टै डिम्याट तथा राफसाफ खाता खोल्नुपर्ने, कारोबारको विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने र नेप्सेले उक्त विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छन् । ब्रोकरले मार्जिन कारोबार सुविधा दिनुलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन् ।
मार्जिन कारोबार प्रणाली पूर्ण रूपमा लागू भएपछि लगानीकर्ताले कम पूँजीका आधारमा थप सेयर खरिद गरी बढी पूँजी परिचालन गर्न सक्छन्, जसले बजारमा तरलता र माग बढाउने अपेक्षा गरिएको छ । साथै, ब्रोकरहरू पनि कमिसनमा मात्र निर्भर नभई मार्जिन लेन्डिङमार्फत ब्याज आम्दानी गरेर व्यावसायिक रूपमा थप सबल बन्न सक्छन् ।

मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने अनुमतिपत्र प्राप्त ब्रोकरको चुक्तापुँजी न्यूनतम २० करोड भएको, राफसाफ सदस्यता प्राप्त गरेको, मार्जिन कारोबारका लागि धितोपत्र बजारको सहमति लिनुपर्ने लगायत मापदण्ड तोकिएका छन् । नयाँ निर्देशिकाले चुक्तापूँजीका सम्बन्धमा गरेको व्यवस्थाले अधिकांश ब्रोकरले यो सुविधा दिने सक्ने बताइएको छ ।

लगानीकर्ताले आफूले कारोबार गर्दै आएका ब्रोकरबाटै मार्जिन कारोबार सुविधा हुनुपर्ने माग लामो समयदेखि गर्दै आएका थिए । यसअघि नेप्सेले पनि यससम्बन्धी कार्यविधि तयार गरेको थियो । अब नेप्सेले उक्त कार्यविधि पुनः संशोधन गरेर जारी गरेपछि ब्रोकरले यो सुविधा दिन सक्नेछन् ।

मार्जिन सुविधाअन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ । कारोबार अवधिभर बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानीकर्ताले न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्नेछ । सेयरको मूल्य तोकिएको सीमाभन्दा तल पुगेमा लगानीकर्ताले सम्भार मार्जिन कायम गर्नुपर्नेछ । धितोपत्र बजार संवेदेनशील र जोखिमयुक्त समेत हुने भएकाले यो सुविधा लिनुअघि लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमतालाई पनि राम्ररी बुझ्नुपर्नेमा जोड दिइएको छ ।

नेपालमा हाल ९० ओटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । यस्तै बजार सञ्चालक नेप्सेमा सूचीकृत कम्पनी २८४ ओटा छन् । यस्तो छ बिहीबार (हिजो) हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस