ह्वात्तै बढ्यो वित्तीय पहुँच, प्रयोग र गुणस्तर (भिडियो रिपोर्ट)

अनलाइनसमय |
४ फागुन २०८२
ह्वात्तै बढ्यो वित्तीय पहुँच, प्रयोग र गुणस्तर (भिडियो रिपोर्ट)

काठमाडौं, ४ फागुन । नेपालमा वित्तीय सेवामा आम नागरिकको पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य प्रगति देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो ०.४७ थियो । वित्तीय समावेशीकरण सूचकांक शून्यदेखि एक सम्मको मापनमा आधारित छ, जहाँ उच्च अंकले वित्तीय प्रणालीमा नागरिकको बढी समावेशिता जनाउँछ ।

पहुँच, प्रयोग र गुणस्तर गरी तीन आयाम रहेको वित्तीय समावेशिता सूचकका लागि ५५ ओटा विभिन्न सूचक प्रयोग गरिएको छ । प्रतिवेदनअनुसार पहुँच सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, सेवा केन्द्र र डिजिटल वित्तीय सेवाको विस्तार भएको बुझाउँछ । यस्तै प्रयोग सूचकांक ०.५४ कायम भएको छ, जसले बैंकिङ कारोबार, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको सहभागिता बढ्दै गएको देखाउँछ । त्यसैगरी, गुणस्तर सूचकांक ०.५० पुगेको छ । यसले वित्तीय सेवाको गुणस्तर सुधारिएको जनाएको छ ।

वित्तीय समावेशीकरण पछिल्ला वर्षमा एक महत्वपूर्ण राष्ट्रिय प्राथमिकता बनेको छ । यो सूचकांले बैंकिङ सेवा, लघुवित्त, सहकारी, डिजिटल भुक्तानी, बीमा, पूँजीबजार, सामाजिक सुरक्षाजस्ता वित्तीय सेवाहरूको विस्तृत दायरालाई समेट्छ । समग्रमा वित्तीय सेवाको पहुँच, प्रयोग तथा सेवा गुणस्तरमा आएको सुधारले सूचकांक उकासिन सघाउ पुगेको हो ।

वित्तीय समावेशिता सूचक उल्लेख्य बढ्नुमा डिजिटल वित्तीय नवप्रवर्तन, सहज रूपमा उपलब्ध सेवासुविधाको उल्लेख्य योगदान रहेको छ ।

आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरता प्रवद्र्धन र उपभोक्ता केन्द्रित वित्तीय सेवा विस्तारले यो सूचकांक बढ्ने अपेक्षा गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालको वित्तीय पहुँच सूचक ०.४७, प्रयोग सूचक ०.४९ र गुणस्तर सूचक पनि ०.४९ थियो । नेपाल राष्ट्र बैंकले पहुँचलाई ३५ प्रतिशत, उपयोगलाई ४५ प्रतिशत र गुणस्तरलाई २० प्रतिशत भार दिएर समग्र वित्तीय समावेशिता सूचकांक तयार पारेको हो ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस