काठमाडौं, १३ माघ । नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै ’विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ ।
उक्त ऋणपत्र खरिदका लागि आगामी माघ १४ गते (भोलि) बुधवार बोलकबोल खुला हुने जनाएको छ । यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निष्कासन मिति २०८२ माघ १५ गते बिहीबार तय गरिएको छ भने साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुनेछ । ऋणपत्रमा पाइने ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने र यसमा नियमानुसार आयकर लाग्ने सूचनामा उल्लेख छ ।
कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि र १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्टाइएको छ ।यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था छ ।