दक्षिण कोरियाबाट हुने आयातमा २५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा

अनलाइनसमय |
१३ माघ २०८२
दक्षिण कोरियाबाट हुने आयातमा २५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, १३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने वस्तुहरूमा कर (ट्यारिफ) २५ प्रतिशतसम्म बढाउने घोषणा गरेका छन् । उनले गत वर्ष भएको व्यापार सम्झौताको पालना दक्षिण कोरियाले नगरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले हाल १५ प्रतिशत रहेको ट्यारिफलाई बढाएर २५ प्रतिशत पु¥याइने बताए । यो निर्णय अटोमोबाइल, काठ (लम्बर), औषधि तथा “अन्य सबै पारस्परिक ट्यारिफ” लाग्ने वस्तुहरूमा लागू हुने उनले उल्लेख गरेका छन् । दक्षिण कोरियाली सांसदहरूले सम्झौता अनुमोदन गर्न ढिलाइ गरिरहेको र अमेरिका भने सम्झौताअनुसार आफ्नो ट्यारिफ घटाउन छिटो कदम चालेको ट्रम्पले बताएका छन् ।

यता दक्षिण कोरियाले भने आफ्ना केही वस्तुमा ट्यारिफ बढाउने निर्णयबारे आफूलाई कुनै आधिकारिक सूचना नआएको जनाएको छ । यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता गर्न चाहेको दक्षिण कोरियाको भनाइ छ ।  दक्षिण कोरियाका उद्योग मन्त्री किम जुङ–क्वान हाल क्यानडामा रहेकाले सकेसम्म छिटो वासिङ्टन पुगेर अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग भेटवार्ता गर्ने दक्षिण कोरियाले जनाएको छ ।

गत अक्टोबरमा सियोल र वासिङ्टनबीच सम्झौता भएको थियो, जसअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर (करिब २५६ अर्ब पाउन्ड) लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । उक्त लगानीको केही हिस्सा जहाज निर्माण क्षेत्रमा जाने सहमति थियो । त्यसको अर्को महिनामा, दक्षिण कोरियाले सम्झौता अनुमोदन प्रक्रिया सुरु गरेपछि अमेरिकाले केही वस्तुमा लगाइएको ट्यारिफ घटाउने सहमति दुबै देशबीच भएको थियो ।

उक्त सम्झौता नोभेम्बर २६ मा दक्षिण कोरियाको राष्ट्रिय सभामा पेस गरिएको थियो र हाल समीक्षा प्रक्रियामा छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो सम्झौता फेब्रुअरीमा पारित हुने सम्भावना छ । ट्यारिफ आयात गर्ने कम्पनीहरूले तिर्नुपर्छ । यस अवस्थामा, दक्षिण कोरियाबाट सामान खरिद गर्ने अमेरिकी कम्पनीहरूले २५ प्रतिशत कर तिर्नुपर्नेछ ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकाल सुरु गरेयता ट्यारिफलाई बारम्बार विदेश नीतिको दबाबका रूपमा प्रयोग गर्दै आएका छन् । शनिबार उनले क्यानडाले चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए । बीबीसी

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस