काठमाडौं, १२ माघ । अमेरिकाका विभिन्न भागमा फैलिएको शक्तिशाली शीतकालीन आँधीका कारण हवाई यातायात प्रभावित भएको छ । आइतबार मात्रै देशभर ११ हजार ४ सयभन्दा बढी उडानहरू रद्द गरिएको हो । हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रुहरूलाई ठूलो सास्ती परेको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी तटीय भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड नागरिकलाई असर पार्न सक्ने अनुमान गरिएको छ । वाशिङ्टन डीसी, न्यूयोर्क र बोस्टन क्षेत्रमा ३० देखि ६० सेन्टिमिटरसम्म हिउँ जम्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
उडान अनुगमन गर्ने संस्थाहरूका अनुसार आइतबार रद्द भएका उडानहरूको संख्या महामारीपछि देखिएको सबैभन्दा ठूलो अवरोधमध्ये एक हो । खराब मौसमका कारण न्यूयोर्कस्थित ला गार्डिया विमानस्थल आइतबार दिउँसो पूर्ण रूपमा बन्द गर्नुपरेको थियो ।
फिलाडेल्फियामा करिब ९४ प्रतिशत, ला गार्डियामा ९१ प्रतिशत र जे एफ के अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै ८० प्रतिशत उडानहरू रद्द भएका छन् । त्यसैगरी डलास–फोर्ट वर्थ, चार्लोट, फिलाडेल्फिया र अटलान्टा जस्ता प्रमुख विमानस्थलहरू पनि अत्यधिक प्रभावित भएका छन् ।
उड्डयन विज्ञहरूका अनुसार उडान सेवा पुनः सामान्य अवस्थामा आउन केही दिन लाग्न सक्छ । प्रत्यक्ष रूपमा आँधीको असर नपरेका यात्रुहरू समेत श्रृङ्खलाबद्ध ढिलाइका कारण प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
उडान रद्द भएपछि यात्रुले यात्रा नगर्ने निर्णय गरेमा टिकट फिर्ता नहुने सर्त भए पनि कानुनअनुसार पूरा रकम फिर्ता पाउने अधिकार सुरक्षित रहने उड्डयन निकायहरूले स्पष्ट पारेका छन् ।