काठमाडौं, ११ माघ । राष्ट्रियसभा सदस्यको रिक्त पद पूर्तिका लागि आज देशभर मतदान प्रक्रिया सुरु भएको छ । फागुन २० गतेदेखि रिक्त हुने पदका लागि बिहान ९ बजेदेखि निर्वाचन भइरहेको हो ।
कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध चयन भइसकेकाले त्यहाँ मतदान गर्नुपरेन । बाँकी १७ पदका लागि भने सातै प्रदेशमा एकसाथ मतदान सञ्चालन गरिएको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगरमा, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाममा र बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराहीको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरलाई मतदान केन्द्र तोकिएको छ ।
मतदान प्रक्रियामा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।