पाल्पा सिमेन्टको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
११ माघ २०८२
पाल्पा सिमेन्टको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ११ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २५ गतेदेखि स्थानीयका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ करोड रुपैयाँ मूल्यको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो । प्रतिशेयर मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।

उक्त शेयर पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) तथा खानी क्षेत्र रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न पाइने व्यवस्था गरिएको छ ।

आईपीओ निष्काशन प्रयोजनका लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले पाल्पा सिमेन्टलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस