ट्रम्पलाई त्रासैत्रास, भन्छन् मध्यावधि चुनाव नजिते मलाई महाभियोग लगाउँछन्

अनलाइनसमय |
२४ पुष २०८२
ट्रम्पलाई त्रासैत्रास, भन्छन् मध्यावधि चुनाव नजिते मलाई महाभियोग लगाउँछन्

काठमाडौं, २४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकनहरूले जित्नै पर्ने चेतावनी दिएका छन् । मंगलबार वाशिङ्टनमा हाउस रिपब्लिकन कोकस रिट्रिटमा बोल्दै उनले यो मध्यावधि निर्वाचनमा हारे आफूलाई महाभियोग लगाउने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘तपाईंहरूले मध्यमावधि निर्वाचन जित्नै पर्छ, यदि हामी हार्यौं भने, उनीहरूले महाभियोगको कारण पाउनेछन्, म महाभियोगमा पर्छु,’ उनको भनाइ उद्वत गर्दै अलजजिरालेलेखेको छ ।

सो क्रममा ट्रम्पले रिपब्लिकन सांसदहरूलाई आपसी मतभेद त्याग्न र अमेरिकी जनता माझ स्वास्थ्य सेवा, निर्वाचन निष्पक्षता र लैङ्गिक विषयमा आफ्नो एजेन्डा अघि बढाउन आग्रह गरे । उनले महँगीका कारण आक्रोशित जनतालाई सम्बोधन गर्न पनि निर्देशन दिएका छन् ।

अमेरिकामा राष्ट्रपति वा अन्य उच्च अधिकारीलाई ‘देशद्रोह, घूसखोरी वा अन्य ठूला अपराध’को आरोपमा महाभियोग लगाउन सकिन्छ । महाभियोग लगाइएपछि सिनेटले मुद्दा सुन्छ र दुई–तिहाई मतले दोषी पाएमा पदमुक्त गर्न सकिन्छ ।

नोभेम्बरमा प्रतिनिधि सभाका सबै ४३५ सीट र सिनेटका ३३ स्थानमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभाका सदस्यहरू जनसंख्या अनुसार तोकिएका जिल्लाबाट निर्वाचित हुन्छन् भने सिनेट सदस्यहरू राज्यव्यापी निर्वाचनबाट निर्वाचित हुन्छन् ।

ट्रम्पले रिपब्लिकनको नियन्त्रणमा रहेका राज्यहरूमा नयाँ निर्वाचन क्षेत्र नक्शा पास गर्न दबाब दिएका छन्, जसले आफ्नो पार्टीलाई लाभ पुर्याउँछ । यसलाई गेरिम्यान्डरिङ भनिन्छ । टेक्सास, मिसुरी र नर्थ क्यारोलिनाले नयाँ निर्वाचन क्षेत्र पारित गरेका छन् भने क्यालिफोर्नियामा डेमोक्र्याटहरूले आफ्नै नक्शा पारित गरेका छन् ।

हाल ट्रम्पको समर्थन दर लगभग ४२–४५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । अमेरिकी अर्थतन्त्रमा सुस्ती र भेनेजुएलाको राष्ट्रपति निकोलस म्याडुरोको अपहरण प्रयास असफल भएपछि डेमोक्र्याटहरूले कांग्रेसमा नियन्त्रण फिर्ता पाउने अवसर पाउन सक्छन् ।

ट्रम्प आफ्नो पार्टीको सफलता प्रति आशावादी देखिएका छन् । उनले भने, ‘हामी ऐतिहासिक विजय हासिल गर्नेछौं र मध्यमावधि निर्वाचनमा रेकर्ड तोड्नेछौं ।’

ट्रम्पलाई पहिलो कार्यकालमा दुई पटक महाभियोगको सामना गर्नु परेको थियो । पहिलो २०१९ मा युक्रेनसँग सम्बन्धित मुद्दामा र दोस्रो २०२१ मा जनवरी ६ को क्यापिटल आक्रमणपछि महाभियोग लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस