भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने, २.७५ अर्ब डलरसम्म आम्दानी हुने

अनलाइनसमय |
२३ पुष २०८२
भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने, २.७५ अर्ब डलरसम्म आम्दानी हुने

काठामाडौं, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले ३ करोडदेखि ५ करोड ब्यारेल तेल संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्ने बताएका छन् । ट्रम्पले मंगलबार राती यस्तो बताएका हुन् । उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त आम्दानी अमेरिकाको नियन्त्रणमा रहने सीएनएनमा उल्लेख छ ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै भेनेजुएलाका अन्तरिम अधिकारीहरूले प्रतिबन्धित तेल अमेरिकालाई बुझाउने बताएका बताएका छन् । तेल बिक्रीबाट प्राप्त रकम भेनेजुएला र संयुक्त राज्य अमेरिकाका जनताको हितमा प्रयोग गरिने उनले भनेका छन् ।

ट्रम्पले ऊर्जा मन्त्री क्रिस राइटलाई तत्काल यो योजना कार्यान्वयन गर्न निर्देशन दिइएको पनि उल्लेख गरेका छन् । साथै, उक्त तेल भण्डारण जहाजमार्फत सिधै अमेरिकामा ल्याइने र अमेरिकी बन्दरगाहमा अनलोड गरिने उनले बताएका छन् ।

अमेरिकाका एक वरिष्ठ प्रशासनिक अधिकारीले उक्त तेल पहिले नै उत्पादन भइसकेको र ब्यारेलमा भरेर राखिएको सीएनएनलाई बताएका छन् । यसको अधिकांश हिस्सा अहिले जहाजमा लोड भइसकेको र अब अमेरिकाको गल्फ क्षेत्रमा रहेका रिफाइनरी केन्द्रहरूमा पठाइनेछ, जहाँ त्यसलाई परिष्करण गरिनेछ ।

३० देखि ५० मिलियन ब्यारेल तेल ठूलो परिमाण जस्तो लागे पनि गत एक महिनामा अमेरिकाले प्रतिदिन २ करोडभन्दा बढी ब्यारेल तेल खपत गरेको तथ्यांक छ । यो परिमाणले तेलको मूल्य केही हदसम्म घटाउन सक्छ, तर अमेरिकामा ग्यासको खुद्रा मूल्यमा भने धेरै ठूलो असर पर्ने सम्भावना कम छ ।

अमेरिकी कोष विभागको विश्लेषणअनुसार, पूर्व राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा अमेरिकी रणनीतिक पेट्रोलियम भण्डारबाट यसभन्दा चारदेखि छ गुणा बढी अर्थात् १८ करोड ब्यारेल तेल बजारमा निकालेका थिए । त्यसबाट चार महिनाको अवधिमा ग्यासको मूल्य प्रति ग्यालन केवल १३ सेन्टदेखि ३१ सेन्टसम्म मात्र घटेको थियो ।

ट्रम्पले ट्रुथ सोसलमा आफ्नो घोषणा गरेलगत्तै अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १ डलर, अर्थात् लगभग २ प्रतिशतभन्दा कम घटेर ५६ डलरमा झरेको छ । अधिकतम ५ करोड ब्यारेल तेल बिक्री गर्न सकेमा ठूलो परिमाणमा आम्दानी उठ्न सक्छ ।

हाल भेनेजुएलाको तेल प्रति ब्यारेल ५५ डलरमा कारोबार भइरहेको छ । त्यसैले यदि संयुक्त राज्य अमेरिकाले बजार मूल्य तिर्न तयार खरिदकर्ता फेला पार्न सकेमा उक्त बिक्रीबाट १ अर्ब ६५ करोड डलरदेखि २ अर्ब ७५ करोड डलरसम्म आम्दानी हुन सक्ने देखिन्छ ।

अमेरिकाले गत वर्षको अन्त्यतिर तेल नाकाबन्दी सुरु गरेयता भेनेजुएलाले कच्चा तेलको ठूलो भण्डारण तयार पारेको छ । तर यति ठूलो परिमाणको तेल अमेरिकालाई हस्तान्तरण गर्दा भेनेजुएलाको आफ्नै तेल भण्डार घट्ने सम्भावना पनि छ ।

उक्त तेल स्थलमा रहेका भण्डारण केन्द्रहरू र तेल बोकेर लैजाँदै गर्दा जफत गरिएका ट्यांकरहरू दुवैबाट आउने सम्भावना लगभग निश्चित छ । प्राइस फ्युचर्स ग्रुपका वरिष्ठ बजार विश्लेषक फिल फ्लिनका अनुसार भेनेजुएलासँग करिब ४ करोड ८० लाख ब्यारेल भण्डारण क्षमता छ, जुन लगभग पूर्ण भइसकेको अवस्थामा थियो। उद्योगसम्बन्धी अनुमानअनुसार, ती ट्यांकरहरूले करिब १ करोड ५० लाखदेखि २ करोड २० लाख ब्यारेल तेल ढुवानी गरिरहेका थिए ।

तर, भेनेजुएलाले कुन समयावधिभित्र अमेरिकालाई तेल हस्तान्तरण गर्ने हो भन्ने विषय स्पष्ट पारिएको छैन । एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार भेनेजुएलाको कच्चा तेल अत्यन्तै भारी भएकाले यसलाई लामो समयसम्म भण्डारण गर्न नसकिने हुन्छ, त्यसकारण तेल हस्तान्तरण प्रक्रिया छिटो हुने बताइएको छ ।

तर लिपो आयल एसोसिएट्सका अध्यक्ष एन्ड्र्यु लिपोले भने कच्चा तेल निश्चित समयभित्र परिष्करण नगरेमा बिग्रिन्छ भन्ने कुरा सत्य नभएको बताएका छन् ।

उनले आफ्नो नोटमा लेखेका छन् । ‘यो तेल करोडौँ वर्षसम्म जमिनमुनि रहेको हो । वास्तवमा, रणनीतिक पेट्रोलियम भण्डारमा रहेको धेरैजसो तेल दशकौँदेखि सुरक्षित रूपमा राखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस