काठमाडौं, २१ पुस । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) मार्फत साधारण शेयर बिक्री खुला गरेको छ । संस्थापक र सर्वसाधारण शेयरधनीबीच ७०ः३० को स्वामित्व अनुपात कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था आपसमा गाभिएपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ । मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४ दशमलव ३९ प्रतिशत र २५ दशमलव ६१ प्रतिशत कायम भएकाले उक्त अनुपात समायोजनका लागि एफपीओ जारी गर्न लागिएको लघुवित्तले जनाएको छ ।
एफपीओ अन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको छ ।
यो निष्काशन छिटोमा पुस २४ गते बन्द हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।