काठमाडौं, २० पुस । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, कोशी प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ । यो प्रयास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल हो र यसअन्तर्गत बैंकले हालसम्म देशभर ७० वटा मेसिन जडान गरिसकेको छ ।
ज्योति विकास बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. १२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका वडा नं. ०५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको हो । साथै, खोटाङ जिल्लाको जालपा वडा नं. १२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. ०२ स्थित एकतीन हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले विभिन्न चरणहरू मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा यस अघि प्रदान गरेका ६६ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब २ हजार ४४२ भन्दा बढी नेपाली शिशुलाई यो सुविधा उपलब्ध गराई वहाँहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
हालसम्मको करिब १२ हजार २१० भन्दा बढी शिशु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएको बैंकले जनाएको छ ।