प्राइमरी भोटिङकै धज्जी उडाइयो : तोसिमा कार्की

अनलाइनसमय |
१६ पुष २०८२
प्राइमरी भोटिङकै धज्जी उडाइयो : तोसिमा कार्की

काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पार्टीले गरेको प्राइमरी भोटिङको मर्मसमेत उल्लंघन भएको आरोप लगाउँदै पदाधिकारी सदस्यहरूले समानुपातिक सूचीबाट नाम हटाई प्रत्यक्ष निर्वाचन लड्नुपर्ने माग गरेकी हुन् ।

उनले भनिन्, ‘प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन । मैले सधैँ भन्ने गरेको छु र फेरी पनि भन्छु, पार्टिको भाईटल पोसिसनमा बस्ने साथीहरुले प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ ।’

कार्कीले सूची समानुपातिक प्रणालीको मूल मर्मविपरीत रहेको भन्दै आफन्तवाद र नातावादको अन्त्य हुनुपर्ने बताइन् । उनले समानुपातिक प्रणालीले भौगोलिक रूपमा पिछडिएका र पहुँचविहीन समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् । ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ,’ उनले भनिन्, ‘तर, पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षि हुनु र त्यही आफ्नो स्पेस बनाउनु÷बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ । समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस