ह्वात्तै बढ्यो बीमाको पहुँच, लघुबीमा प्रमुख आधार बन्दै (भिडियो रिपोर्ट)
अनलाइनसमय |
११ पुष २०८२
काठमाडौं, ११ पुस । नेपालमा जीवन बीमाको पहुँच तथा दायरा एक वर्षमै उल्लेख्य बढेको छ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा बीमाको पहुँच साढे ६ प्रतिशतले बढेको छ । गतवर्षको कात्तिक सम्ममा ४२.९२ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेकोमा यस वर्षको सोही अवधिमा ४९ दशमलव ४८ प्रतिशत पुगेको हो । यो म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेखसहितको तथ्यांक हो ।
गत कात्तिकसम्ममा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक बीमाको दायरामा रहेको जनसंख्या भने १७ दशमलव ९७ प्रतिशत छ । सो अवधिमा सक्रिय जीवन बीमालेख १६ दशमलव ३६ प्रतिशत र जारी जीवन बीमालेखमा ३२.५४ प्रतिशत वृद्धि भएको छ ।
गतवर्षको तुलनामा यस वर्ष सक्रिय बीमाको वृद्धिदरलाई प्रदेशगत रूपमा हेर्दा ठूलो विषमता देखिएको छ, अर्थात् तुलनात्मक रूपमा सुगम प्रदेशमा सक्रिय बीमाको वृद्धिदर सुस्त हुँदा दुर्गममा भने सबैभन्दा धेरैले बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार बागमती प्रदेशमा सक्रिय जीवन बीमालेख ५.४२ प्रतिशतले बढ्दा कर्णालीमा १३५.६३ प्रतिशतले बढेको छ ।
गत कात्तिकसम्ममा सक्रिय जीवन बीमालेखमध्ये लघु जीवन बीमाको वृद्धिदर सबैभन्दा बढी अर्थात् ४०.५९ प्रतिशत छ । यस्तै जारी बीमालेखमा पनि लघु जीवन बीमा ४६.९० प्रतिशत वृद्धिसहित सबैभन्दा अगाडि छ । पछिल्लो समय लघु जीवन बीमामा आकर्षण बढ्न थालेको देखिन्छ ।
ग्रामीण क्षेत्र, दूरदराज र विपन्न वर्गका नागरिकसम्म बीमाको पहुँच पु¥याउने उद्देश्यले प्राधिकरणले तीन जीवन लघुबीमक र चार निर्जीवन लघुबीमकलाई सञ्चालन अनुमति दिएको थियो । नेपालको आधा जनसंख्यामा अझै पनि बीमा पुग्न नसकेको अवस्थामा लघुबीमकहरूलाई व्यवसाय विस्तारको ठूलो अवसर देखिएको छ ।
गत कात्तिक मसान्तसम्ममा जीवन र लघुजीवन बीमा कम्पनीहरूबाट २४ लाख २९ हजार बीमालेख जारी भएका छन् । सो अवधिमा सक्रिय जीवन बीमालेख १ करोड ६० लाख ६३ हजार कायम छन् । हाल नेपालमा १७ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।
यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :