राष्ट्रपति ट्रम्पको गोल्ड कार्ड योजना, १० लाख डलर तिरेर अमेरिकी नागरिकता पाइने

अनलाइनसमय |
२५ मंसिर २०८२
राष्ट्रपति ट्रम्पको गोल्ड कार्ड योजना, १० लाख डलर तिरेर अमेरिकी नागरिकता पाइने

काठमाडौं, २५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशी नागरिकहरूका लागि नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ भिसा सुरु गरेका छन् । यससँगै धनी विदेशी तथा कम्पनीहरूले ठूलो रकम तिरेर अमेरिकामा स्थायी बसोबासको अवसर पाउनेछन् ।

यो भिसा योजना अनुसार विदेशी नागरिकहरूले १० लाख अमेरिकी डलर तिरेर आफ्ना भिसा आवेदन दिन सक्नेछन् भने कम्पनीहरूले २० लाख डलर तिरेर रोजेको कर्मचारीलाई अमेरिका ल्याउन प्रायोजन गर्न सक्नेछन् । त्यसपछि कम्पनीहरूले वार्षिक २० हजार डलर (१ प्रतिशत) मर्मत शुल्क र एक कर्मचारीबाट अर्कोमा भिसा सार्न चाहेको खण्डमा हरेक पटक १ लाख डलर (५ प्रतिशत) हस्तान्तरण शुल्क तिर्नुपर्नेछ ।

‘सबै योग्य र जाँचपास भएका मानिसहरूका लागि नागरिकताको सिधा बाटो । यो धेरै रोमाञ्चक छ । अमेरिकी कम्पनीहरूले अन्ततः आफ्ना अमूल्य प्रतिभालाई आफैंसँग राख्न सक्नेछन्,’ ट्रम्पले बुधबार सामाजिक सञ्जालमा लेखे ।

वेबसाइटमा आवेदन खुला भइसकेको छ । एक आधिकारिक सरकारी वेबपेजमा नयाँ ट्रम्प गोल्ड कार्डमार्फत कीर्तिमानी समयमा अमेरिकी बसोबासको अनुमति दिने वाचा गरेको छ ।

त्यसका लागि निवेदकहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्युरिटी (डीएचएस) लाई १५ हजार डलर प्रक्रिया शुल्कका रूपमा बुझाएर पृष्ठभूमि अनुमोदन गनृुपर्नेछ । त्यसपछि १० लाख डलर तिर्नुपर्ने वेबसाइटमा उल्लेख छ ।

कति समय लाग्छ ‘गोल्ड कार्ड’ प्रक्रिया ?
वेबसाइटका अनुसार आवेदन पेस गरेपछि प्रक्रिया केही हप्तामा पूरा हुन्छ र यसमा अन्तरवार्तामा भाग लिनुपर्ने हुन्छ । थप शुल्कहरू आवेदनकर्तामा निर्भर गर्दै अमेरिकी स्टेट डिपार्टमेन्टलाई तिर्नुपर्छ ।

‘आवेदनकर्ताले भिसा अन्तरवार्तामा उपस्थित हुनुपर्नेछ र आवश्यक कागजात समयमै पेस गर्नुपर्नेछ,’ वेबसाइटमा उल्लेख छ ।

छनोट भएका आवेदनकर्ताले ईबी–१ भिसा र ईबी–२ भिसा पाउनेछन्, जुन रोजगार–आधारित भिसा हो व्यक्तिको क्षमता असाधारण वा विशेष हुन्छन् । यी भिसा पाएकाले अमेरिकामा कानुनी स्थायी बसोबास पाउनेछन् ।

सार्वजनिक भयो ट्रम्प प्रशासनको ‘प्लाटिनम कार्ड’ योजना
ट्रम्प प्रशासनले छिट्टै आउने “ट्रम्प प्लाटिनम कार्ड”को योजना सार्वजनिक गरेको छ । वेबसाइटले विदेशी नागरिकहरूलाई प्रतीक्षासूचीमा आफ्नो नाम राख्न आह्वान गरेको छ ।

५० लाखको डलर (करिब ४५ लाख रुपैयाँ) तिरेर योग्य व्यक्ति अमेरिकामा २७० दिनसम्म बस्न सक्छन् र यस अवधिमा उनीहरूको गैर–अमेरिकी आम्दानीमा अमेरिकी कर लाग्दैन ।

वेबसाइटमा भनिएको छ, ‘विदेशी नागरिकहरूले अहिले साइन अप गरी प्रतीक्षासूचीमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् । कार्ड सुरु भएपछि १५,००० डलर डिएचएस शुल्क र ५० लाख डलरको योगदान दिएपछि उनीहरूले २७० दिनसम्म अमेरिकामा बस्न सक्नेछन् र गैर–अमेरिकी आम्दानीमा कर लाग्ने छैन ।’

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस