काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा ६ लाखभन्दा नेपाली कामको खोजिमा विदेश गएका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख ७ हजा ८३४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा ५ लाख ३५ हजार ५५७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या १६ दशमलव ८५ प्रतिशतले बढेको छ । गत वर्षको नौ महिनामा ५८ हजार ३२९ महिलाले श्रम स्वीकृति लिएकोमा चालू आवको यसै अवधिमा ६८ हजार १६० महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । चैत महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ७ हजार ८ सय ३६ महिलालले श्रम स्वीकृति लिएको छन् ।
चालू आवको नौ महिनामा ५ लाख ३९ हजार ७१४ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन गत आवको चैतसम्मको तुलनामा १३ दशमलव १० प्रतिशतले बढी हो गत आवको सोही अवधिमा ४ लाख ७७ हजार १९२ पुरुषले श्रम स्वीकृति लिएका थिए । चालू आवको फागुनमा मात्रै ६५ हजार ५६७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्
यसैगरी विभिन्न देशमध्ये नेपालीको श्रम गन्तव्य सबैभन्दा धेरै यूएई रहेको छ । चालू आवको चैतमा मात्र २३ हजार ६७१ युवाले श्रम स्वीकृति लिएर यूएई गएका छन् । योसँगै ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९२१ जना रहेको छ ।
दोस्रो स्थानमा साउदी अरब रहेको छ । यस देशका लागि चैतमा मात्रै १४ हजार ७७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ११ हजार १४५, मलेसिया जान ५ हजार ३४१ र कुवेतका ४ हजार ५७० जनाले श्रम स्वीकृति लिएका छन् । यस वर्ष कुल १ सय ८ देशमा नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ ।
