किन घट्यो सक्रिय म्यादी जीवन बीमालेख ? कसरी बढ्न सक्छ यो बीमा ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२९ चैत २०८१
काठमाडौं, २९ चैत । नेपालमा बीमा कम्पनीहरूको सञ्जाल र उपस्थिति बढ्दै गए पनि समग्र बीमाको पहुँच भने अपेक्षित रूपमा बढ्न सकेको छैन । नेपाल बीमा प्राधिकरणका अनुसार एक वर्षमा बीमाको पहुँचमा पुगेको जनसंख्या १ प्रतिशतले मात्र बढेर ४४.१७ प्रतिशत पुगेको छ । म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई छाड्ने भने यो १६.५७ प्रतिशत मात्र छ, जुन गतवर्षको भन्दा कम हो । यता, सक्रिय बीमालेखतर्फ म्यादी जीवन बीमालेख ठूलो संख्यामा घटेको छ । हाल जीवन बीमामा १० प्रकारका बीमालेख रहेकोमा सक्रिय म्यादी जीवन बीमालेख एक वर्षमै करीब १८ प्रतिशतले घटेको छ ।
म्यादी जीवन बीमा विशुद्ध जीवन बीमा हो, जसबाटै परम्परागत जीवन बीमाको शुरुआत भएको हो । यसको बीमाशुल्क बीमांकको तुलनामा निकै थोरै हुन्छ । व्यक्तिमा निहित जोखिमअनुसारको बीमाका लागि यो बीमालाई पहिलो विकल्प मानिन्छ । सामान्यतया यो बीमामा बचतको अवधारणा हुँदैन । बीमाशुल्क तिर्ने अवधिसम्म बीमितको मृत्यु भएमा परिवार वा इच्छाइएको व्यक्तिले बीमांक रकम प्राप्त गर्छन् । तर महत्वपूर्ण हुँदाहुँदै पनि म्यादी जीवन बीमा बढ्नुको साटो घटिरहेको छ ।
नेपालजस्तो कम क्रयशक्ति भएको मुलुकमा मानिसले आफ्नो आम्दानीको न्यून हिस्सामात्र बीमा र बचतका लागि छुट्याउन सक्छन् । यस्तो अवस्थामा म्यादी जीवन बीमाको महत्व र सान्दर्भिकता झनै बढी देखिन्छ ।
म्यादी जीवन बीमा विभिन्न कारणले बीमित र अभिकर्ताको कम प्राथमिकतामा परेको पाइन्छ । बीमा अभिकर्ता बीमितको वित्तीय परामर्शदाता पनि भएकाले बीमितलाई उपयुक्त हुने बीमाबारे बुझाउनु पेशागत दायित्व हो । यसमा सम्बद्ध कम्पनीको पनि उत्तिकै भूमिका हुन्छ ।
नेपालको आधा जनसंख्यामा पनि बीमाको पहुँच नपुगेको अवस्थामा म्यादी जीवन बीमा यसको दायरा विस्तारको समेत प्रमुख माध्यम बन्न सक्छ । यसका लागि यो बीमालेखलाई थप सुविधामुखी बनाउनुपर्ने देखिन्छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेख ३ प्रतिशतले बढेको छ । गतवर्षको ८ महिनामा यो १ करोड ३८ लाख ७ हजार २५९ रहेकोमा यस वर्षको सोही अवधिमा १ करोड ४२ लाख ३८ हजार ६४२ पुगेको हो । तर म्यादी जीवन बीमालेख ४० लाख २१ हजार ९५२ बाट घटेर ३३ लाख ६ हजार १९४ ओटामा सीमित छ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्टः