काठमाडौं, ८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले छाउपडी प्रथा अन्त्य गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ७७५ छाउगोठ भत्काइएको बताएका छन् ।
आज (शुक्रबार) राष्ट्रिय सभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताएका हुन् ।
उनका अनुसार कर्णाली प्रदेशका जाजरकोटमा १, कालिकोटमा १५, सुर्खेतमा २९७ र सुदूरपश्चिम प्रदेशमा बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ तथा अछाममा २२१ गरी कुल ७७५ छाउगोठ भत्काइएको छ । ‘छाउगोठमा बस्ने वा बस्न लगाउनेलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘महिनावारीका सम्बन्धमा विद्यमान हानिकारक सामाजिक प्रचलनलाई पूर्णतः निषेध÷निरूत्साहित गर्दै महिनावारीलाई मर्यादित बनाउनुपर्नेछ, महिनावारी वा सुत्केरी हुँदा धार्मिक, सांस्कृतिक र सामाजिक अवस्थामा महिलामाथि गरिने हिंसा, विभेद, शोषण र भेदभाव अन्त्य गरिनुपर्छ ।’
समुदाय, प्रहरी साझेदारीमार्फत महिला हिंसा तथा छाउपडी प्रथाविरुद्ध अभियानलाई उच्च प्राथमिकता दिइ कार्यक्रम सञ्चालन भइरहेको मन्त्री सुडीले बताए । ‘समाजमा विद्यमान महिनावारीसम्बन्धी हानिकारक सामाजिक प्रथा तथा परम्परालाई अन्त्य गर्न तीन तहका सरकारको समन्वय र साझेदारीमा सचेतनामूलक र मनोसामाजिक परामर्शका साझा अभियान सञ्चालन गर्दै आएको छौँ,’ उनले भने ।
महिनावारीका बेला गरिने भेदभाव, अन्याय तथा विभेद अन्त्य गर्दै सभ्य समाज निर्माणका लागि मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारिएको उनको भनाइ छ ।