बढ्यो मोटर बीमा, निर्जीवन बीमा सबैभन्दा बढी हिस्सा (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१० फागुन २०८१
काठमाडौं, १० फागुन । नेपालको निर्जीवन बीमामा मोटर बीमाको हिस्सा बढ्दै गएको छ । निर्जीवन बीमाको करिब एक तिहाई व्यवसाय मोटर बीमाले नै धानेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको कुल व्यवसायमा ३१.२० प्रतिशत व्यवसाय मोटर बीमाको छ । सो अवधिमा कम्पनीहरूले ७ लाख ८४ हजार ४४४ मोटर बीमालेखमार्फत ६ अर्ब ६४ करोड ९७ लाख बीमाशुल्क संकलन गरेका छन् । यस्तै गत आवको तुलनामा सो अवधिमा मोटर बीमा व्यवसाय ५.१७ प्रतिशतले बढेको छ ।
नेपालमा सवारीसाधनको बीमा अनिवार्य गरिएको छ, जसमा पूर्ण र तेस्रो पक्ष गरी दुई प्रकारको बीमा गर्न सकिन्छ । पूर्ण बीमाले सवारीसाधन, चालक तथा सहचालक र तेस्रो पक्षको क्षतिलाई व्यहोर्छ । तर, तेस्रो पक्षको बीमाले भने सवारीले तेस्रो पक्षलाई पु¥याएको क्षति मात्र बेहोर्छ । मोटर बीमाको थप दायरा र पहुँच बढाउन यसको महत्व र लाभबारे बुझाउनुपर्ने खाँचो समेत छ ।
नेपालको सडक यातायात सुरक्षाका हिसाबले अति संवदेनशील क्षेत्रमा पर्छ । वर्षेनि हजारौंको संख्यामा हुने दुर्घटनाले पनि जोखिमको अवस्था प्रस्ट हुन्छ । सवारीसाधन तथा यातायातमा निहित जोखिम वहन गर्ने भएकाले मोटर बीमाको विस्तारले समग्र अटो तथा यातायात उद्योगको दिगो विकास र प्रवद्र्धनमा टेवा पुग्छ ।
बीमा जोखिमको व्यवसाय हो । अन्य बीमामा जस्तै मोटर बीमामा पनि आफ्नै किसिमका जोखिम हुन्छन् । साथै यसको दाबी भुक्तानी पछ्र्योटमा चुनौती हुने भएकाले बीमा सर्भेयरबाट तथ्य र व्यावसायिक कुशलतापूर्वक क्षतिको मूल्यांकन प्रतिवेदनको आवश्यकता पर्छ ।
विभिन्न कारणबस सवारीसाधन, चालक र तेस्रो पक्षलाई हानी नोक्सानी हुँदा क्षतिपूर्ति पाइने हुँदा मोटर बीमाको महत्व सर्वोपरि हुन्छ । सामान्यतया सवारीसाधन चोरी भएमा, सडक दुर्घटना, भूकम्प, बाढीपहिरो, आगलागी आदि प्राकृतिक प्रकोपबाट क्षति पुगेमा मोटर बीमाले बेहोर्छ । यद्यपि बीमाशुल्क, शर्त र अवस्थाअनुसार यस्तो बीमाले बेहोर्ने क्षति फरक पनि हुन सक्नेछ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्टः