काठमाडौं, ९ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत सोमवार हेटौंडामा सम्पन्न सभाले शेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणसँगै संस्थाको चुक्तापूँजी ३ अर्ब २१ करोड ५३ लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय लघुवित्त र सदस्यमाझ देखिएको अन्तर चिर्न यस संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
छिमेक लघुवित्तले लघुवित्तबाट प्र्रवाहित कर्जाको सदुपयोगको विषयमा आफ्ना सदस्य ऋणीहरूलाई सुचूचित गर्दै आएको छ । साथै लघुवित्तका कार्यक्रमलाई थप पहुँचयोग्य, प्रभावकारी र नतीजामुखी बनाउन यो संस्था विशेष व्यवस्थासहित अघि बढेको छ ।
छिमेक लघुवित्तले आफ्ना सदस्यलाई वित्तीय सुविधासँगै उद्यमशीलता र शीप तथा विकास विकासका तालीमलाई समेत जोड दिँदै आएको छ । सदस्य वर्गको उच्चतम हित संस्थाको प्राथमिकता रहेको बताइएको छ ।
छिमेक लघुवित्तले बहुकर्जा लगायत समस्यामा विगतदेखि नै सजग रहँदै आएको छ । कृषि लगायत साना उद्यम व्यवसायको कर्जा लगानीमा बढी जोड दिएको संस्थाले छिमेकमा मात्र रहने सदस्यलाई सहुलियत तथा सुविधा समेत दिने गरेको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस संस्थाले ६९ जिल्लाका ५०० स्थानीय तहमा १९७ शाखामार्फत ४ लाख २३ हजार ४२७ जना महिला सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । २०५८ सालमा स्थापित यस संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ४४ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट :