काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् ।
शुक्रबार राजधानीमा भएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले राजनीतिमा आएर कुनै एक दलको नेता मात्रै बन्ने कि पर बसेर सामाजिक परिवर्तनको नायक बन्ने भण्डारीकै हातमा रहेको बताए ।
‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ । ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी र डा. रामवरण यादव) हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’