मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

अनलाइनसमय |
६ असोज २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

केही दिनअघि साइबर अपराध गरेको कसुरमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पक्राउ गर्न गत बुधबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा अनुमति मागेको थियो । अदालतले अनुमति मागेको चार दिन पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय प्रसाईंले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’को नाममा गतिविधि गरिरहेका छन् । उनले विभिन्न उद्योगी, व्यवसायी, नेताहरुविरुद्ध अराजक टिप्पणी गर्दै आएका छन् । कतिपय नेताहरुको चरित्रहत्या गर्ने किसिमका टिप्पणी पनि सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका छन् । साथै उनले बैंक तथा वित्तीय संस्थाबारे पनि भ्रम फैलाउँदै अनर्गल प्रचार गर्दैआएका छन् ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस