काठमाडौं, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार उपमेयर शिल्पा कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्दै प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालू आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
महानगरले आगामी आवमा बस्ती विकास र तराई मधेस समृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाको भुक्तानीका लागि ५० करोड र बस्ती विकास र तराई मधेस समृद्धि कार्यक्रमका लागि ५ करोड ६० लाख विनियोजन गरिएको छ।
यस्तै कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख, विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ।
सामाजिक विकास क्षेत्र अर्न्तगत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रममा ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख बजेट विनियोजन गरिएको छ ।