काठमाडौं, २७ जेठ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ’अस्पतालमा ब्रेन ट्यूमरको उपचारका लागि आउनु हुने बिरामीहरू लाई अप्रेशन शुल्कमा शत प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।’ ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । नेपालमा पनि वीर अस्पतालको प्रांगणमा प्रभातफेरीको आयोजना गरेर मनाइएको थियो।
‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ गतेसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको उपचारका लागि आउनु हुने बिरामीलाई अप्रेसन शुल्क शतप्रतिशत छुट गरिएको छ,’ डा. झाले भनेका छन् ।
शनिबार बिहान ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति, तिनका परिवार र समाजमा यसबारे जानकारी दिने उद्देश्यले प्रभातफेरीको समेत गरिएको थियो ।
विज्ञप्तिमार्फत डा. झाले भनेका छन, ‘चिकित्सा विज्ञानमा दिनानुदिन खोज, अनुसन्धान र प्रगति भइरहेका छन्, त्यसको बाबजुद पनि ब्रेन ट्युमरको निदान र उपचार जटिल र प्रायः चुनौतीपूर्ण नै रहन्छ । ब्रेन ट्युमरसम्बन्धी अनुसन्धान बढाउन, बिरामीहरूको उपचारमा सुधार गर्न, प्रभावित व्यक्तिहरुलाई साथ र समर्थन गर्नका लागि ती नियम निर्माण गर्ने तहमा यससम्बन्धी कुरा उठाउन पनि सबैमा जानकारी दिनु आवश्यक छ ।’
ब्रेन ट्युमरसम्बन्धी लक्षण र यसका जोखिमहरु समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने यस रोगबाट पर्ने असर कम गर्न, यसबाट हुनजाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ ।