• ताजा समाचार, विश्व

    मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत

     77 Views
    मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत

    काठमाडौैं, १० बैसाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसद्मा बहुमत हासिल गरेको छ । आइतबार ९३ सिटका लागि मतदान भएको थियो ।

    तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ । यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० सिट जितेका छन् ।

    माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ ।

    मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला छन् । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो । मुइज्जु सेप्टेम्बर २०२३ मा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए ।

    यसअघि माल्दिभ्सको संसदमा भारत समर्थक मानिने विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो । यही कारणले संसदमा मुइज्जुले ठूलो विरोधको सामना गर्नुपरेको थियो । अब संसदीय चुनावमा मुइज्जुको पार्टीको जितले भारतको चिन्ता भने थप बढ्दै गएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment