अस्मिता सापकोटा
काठमाडौँ, २८ असार। निद्रा जीवनको लागि अपरिहार्य छ । निद्रा भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा रातको निद्रा आउछ । पर्याप्त निद्रा पुगेन भने दिनचर्या नै बिथोलिन पुग्छ । नेपालमा राति काम गर्ने चलन कमै छ । यद्यपि बिस्तारै केहि क्षेत्रमा राति पनि काम गर्न सुरु भैसकेको छ । हामीमध्ये प्राय सुचना प्रविधिको क्षेत्रमा काम गर्ने कतिपयले राति पनि काम गर्छौं । साथै कतिपयको स्वभाव नै राति काम गर्ने हुन्छ । बेलुकाको समयमा नसुति काम गर्दा हुने बेफाइदाका बारेमा धेरै सुनेका पनि र्छौं होला । तर खुशीको कुरा हालैको एक सर्वेक्षणले रातभरि ननिदाउने मानिसको मस्तिष्क बिहान सबेरै उठ्ने मानिसको तुलनामा बढी तेजिलो हुने देखाएको छ । उनीहरुको कल्पनाशीलता, सृजनशीलता र बौद्धिकता तुलनात्मक रूपमा बढी हुने उक्त अध्ययनले देखाएको हो । बेलायतमा २६ हजारभन्दा बढी मानिसमा गरिएको एक अध्ययनले उक्त नतिजा देखाएको हो, जुन बिएमजे पब्लिक हेल्थ नामक जर्नलले सन् २०२४ जनवरीमा प्रकाशित गरेको थियो ।
उक्त अध्ययनको उद्देश्य निद्राको अवधि, ढाँचा र गुणस्तरले मानसिक तीक्ष्णता र समग्र संज्ञानात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने पत्ता लगाउनु थियो । अध्ययनले रातको ७ बजेदेखि ९ घण्टासम्म सुत्नु मस्तिष्कको कामका लागि उत्तम भएको पत्ता लगाएको छ । योसँंगै उक्त अध्ययनबाट व्यक्तिको निदाउने समय तालिका वा बानीले पनि परीक्षणलाई प्रभाव पर्ने कुरा पत्ता लाग्यो ।
संज्ञानात्मक परीक्षणमा साँझमा बढी सक्रिय हुने वयस्कहरूले बिहान सक्रिय हुनेले भन्दा राम्रो प्रदर्शन गरेको इम्पेरियल कलेज लन्डनकी राहा वेस्टले बताएकी छिन् । साथै क्रोनोटाइप (अध्याँरो÷उज्यालो अनुसार निदाउन या बिउँझिन शरीरको प्राकृतिक बानी)ले पनि संज्ञानात्मक क्षमतालाई असर गर्न सक्ने उनको ठहर छ ।
यद्यपि यसको मतलब सबै बिहान सक्रिय हुने मानिसहरूको संज्ञानात्मक प्रदर्शन खराब छ भन्ने होइन, तर साँझ सक्रिय रहने अधिकांश मानिसको संज्ञानात्मक क्षमता बढी हुने वेस्टको अध्ययनको सार छ ।
निद्रासम्बन्धी क्रोनोटाइपको विज्ञान
हाम्रो शरीरको प्राथमिकता समय र परिस्थिति अनुसार बदलिरहन्छ । यसैगरी हामीले निदाउने या ब्यँुझिने समय तालिकामा पनि परिवर्तन भइरहन्छ । यसै अनुसार हाम्रो शरीरको ‘बायोलोजिकल क्लक’ले काम गर्छ । यिनै कारण क्रोनोटाइप हाम्रो जीवनकालभरि परिवर्तन भइरहन्छ ।
हंगेरीको बुडापेस्टस्थित इटोभस लोरान्ड विश्वविद्यालयका निद्रा विशेषज्ञ फेइफेई वाङ भन्छन्, ‘केटाकेटीहरू बिहान सक्रिय हुन्छन्, किशोर र युवा वयस्कहरू साँझ सक्रिय हुन्छन् र वृद्धावस्थामा मानिस पुनः बिहान बढी सक्रिय हुने गर्छन् ।’ कुनै कुनै मानिसको ‘टाइम जोन’ परिवर्तन हुँदा पनि निद्रा र अन्य गतिविधिको लय तथा क्रम परिवर्तन नहुने उनको भनाइ छ ।
‘आनुवंशिक, हर्मोनल, वातावरणीय र जीवनशैली जस्ता कारणको संयोजनले पनि एक व्यक्ति बिहान वा बेलुका कुन बेला बढी सक्रिय छ भन्ने निर्धारण गर्छ र यी कारणहरूले नै व्यक्तिको क्रोनोटाइप निर्धारण गर्छ,’ वाङले भने ।
यसैगरी क्रोनोटाइप आंशिक रूपमा सर्काडियन रिदम (शरीरको जैविक घडी)सँग पनि सम्बन्धित छ । व्यक्तिको सर्काडियन रिदम तय गर्ने केही जीनहरू हुन्छन् । यिनै जीनले क्रोनोटाइपमा बलियो प्रभाव पार्छन् । यद्यपि आफ्नो आवश्यकता अनुसार क्रोनोटाइप विकास गर्न भने सकिन्छ ।
उरुग्वेको मोन्टेभिडियोमा रहेको युनिभर्सिडेड डे ला रिपब्लिकाका निद्रा विशेषज्ञ इग्नासियो एस्टेभानका अनुसार स्नातक विद्यार्थीहरूले आफ्नो क्रोनोटाइपलाई दुई वर्षमा झण्डै दुई घण्टा सुधार्न सक्ने देखिएको छ ।
एस्टेभानले क्रोनोटाइप र स्कूल ग्रेडबीचको सम्बन्धको अनुसन्धान गर्दा बिहान सक्रिय हुने र बेलुका सक्रिय हुने दुवैको कार्य क्षमता, कुन दिन अध्ययन गरियो भन्ने कुराले फरक पार्ने देखियो । एस्टेभनले बालबालिकाको शैक्षिक प्रदर्शनमा विद्यालय सुरु हुने समयले प्रभाव पार्ने गरेको पत्ता लगाए । साथै उनले गरेको अध्ययनले राति अबेरसम्म नसुत्ने विद्यार्थीको शैक्षिक प्रदर्शन बिहानी कक्षामा मात्र नराम्रो हुने, तर दिउँसोको कक्षामा कुनै प्रभाव नपर्ने देखायो । साथै स्कूलको समय र विद्यार्थीहरूको जैविक लयबीचको तालमेलले विद्यार्थीको शैक्षिक प्रदर्शन सुधार्न सकिने केही विज्ञहरूको तर्क छ ।
एस्टेभानको भनाइ अनुसार मानिसको संज्ञानात्मक प्रदर्शन निद्राको गुणस्तरमा निर्भर गर्छ । लामो समय सुत्ने मानिसको कम सुत्नेको तुलनामा संज्ञानात्मक प्रदर्शन राम्रो हुने, सिकाइ र राम्रो संज्ञानात्मक कार्यका लागि पर्याप्त निद्राको महत्व हुने उनी बताउँछन् । ‘साथै परीक्षामा धेरै अंक ल्याउने आशामा रातभरि नसुती पढ्नुले परीक्षालाई झनै नराम्रो असर पार्न सक्छ,’ उनले भने ।
दैनिक उत्कृष्ट प्रदर्शनका लागि पर्याप्त निद्रा आवश्यक हुने अधिकांश अध्ययनले देखाएका छन् । साथै आरामदायी निद्राका लागि अनुकूल वातावारणको आवश्यकता हुने विज्ञहरू बताउँछन् । नियमित सुत्ने समय तालिका अपनाउने, सुत्न अँध्यारो र शान्त वातावरण बनाउने, आराम गर्ने प्रयास गर्ने, रात परेपछि क्याफिन जस्ता पदार्थको सेवन नगर्ने र विशेषगरी सुत्नुअघि राति उज्यालोको सम्पर्क कम गरे राति राम्रो निद्रा पर्ने र दैनिक कार्य प्रदर्शन सुधार्न सकिने सुझाव दिए ।
( जर्मन मिडिया डिडब्लुबाट साभार )