राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै

अनलाइनसमय |
२९ जेठ २०८१
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै

काठमाडौं, २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् । राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

राष्ट्रपति पौडेलले बुधबार अर्थात जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् त्यसको भोलिपल्ट ३१ गते ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । सोही दिन राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

यसैगरी जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस