काठमाडौं, २३ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरूलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा नागरिकतासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तर्क्रिरयामा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
लामिछानेले सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गरी छलफलबाट आएका विषयहरूलाई समावेश गर्न सके नागरिकतासम्बन्धी देखिएका तमाम समस्याहरूलाई समाधान सकिने बताए । निकट भविष्यमा नै नागरिकतासम्बन्धी देखिएका समस्याहरूलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको उनको भनाई छ ।
यस्तै उनले आमनागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानुनी अवस्थामा देखिएका कमी कमजोरीहरू सच्याउन जरुरी रहेको पनि उल्लेख गरे । साथै कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरू धेरै रहेको उल्लेख गर्दै लामिछानेले नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउन नहुने बताए । नागरिकले प्राप्त गर्ने अधिकारमा राज्यको तर्फबाट कुनै बाधा हुन नहुने लामिछानेले उल्लेख गरे ।