नेपालीले विदेशमा ४१ अर्ब खर्चिँदा विदेशीले भने नेपालमा १४ अर्ब मात्रै खर्चिए

अनलाइनसमय |
३० असोज २०८३
नेपालीले विदेशमा ४१ अर्ब खर्चिँदा विदेशीले भने नेपालमा १४ अर्ब मात्रै खर्चिए

काठमाडौं, ३० असोज । नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्चको तुलनामा नेपालीहरूले वैदेशिक भ्रमणका क्रममा बाहिर लैजाने रकम करिब तेब्बर बढी रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको दुई महिनामा विदेशीहरूले नेपालमा १४ अर्ब ९४ करोड रुपैयाँ मात्र खर्च गर्दा नेपालीहरूले भने भ्रमण तथा वैदेशिक शिक्षाका नाममा विदेशमा ४१ अर्ब १० करोड रुपैयाँ खर्चिएका छन् ।

विदेशीहरूले नेपालमा गर्ने खर्च गत वर्षको सोही अवधिको तुलनामा भने २८ दशमलव ६ प्रतिशतले बढेको छ । गत आवको साउन र भदौमा विदेशी पर्यटकले ११ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेका थिए ।

चालू आवको दुई महिनासम्ममा खुद सेवा आय २२ अर्ब ४ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३० अर्ब ८८ करोड रुपैयाँ घाटामा थियो ।

नेपालीले विदेशमा गरेको खर्च भने यस वर्ष १३ दशमलव १ प्रतिशतले घटेको छ । गत आवको दुई महिनामा नेपालीले विदेशमा ४७ अर्ब ३१ करोड खर्च गरेकोमा यस वर्ष यस्तो खर्च ४१ अर्ब १० करोड रहेको छ ।

विदेशमा भएको कुल भ्रमण व्ययमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक शिक्षाको रहेको छ । शिक्षातर्फ मात्रै २९ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस