काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्षमा व्यापार सम्बन्धी पूर्वाधारको एकीकृत र रणनीतिक विकासका लागि लजिष्टिक गुरुयोजना निर्माण गरिने भएको छ । मंगलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा लजिष्टिक गुरुयोजनाको निर्माण गरी कार्यान्वयन गरिने उल्लेख छ ।
यस्तै आगामी आवमा व्यापारको पूर्वाधार र प्रविधिको विकास तथा उपयोग गरी उत्पादनको लागत घटाई नेपाली वस्तुलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा बनाइने छ ।
सरकारले आगामी आर्थिक वर्षमा गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्ट लगायतको निर्यातमा अभिवृद्धि गर्ने भएको छ । त्यस्तै स्वदेशी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिनेछ । आगामी आवको पहिलो चरणमा भने कफि, अलैँची, चिया र हिमालयन वाटरको ब्रान्डिङ गरिनेछ ।
यस्तै सरकारले आयात हुने वस्तु तथा सेवामा पनि गुणस्तर मपदण्ड निर्धारण गरी लागू गर्ने भएको छ । गुणस्तरसम्बन्धी सर्वस्वीकार्यता र मापदण्डमा एकरुपता हुने गरी छिमेकी मुलुकसँग सम्झौता प्रक्रिया अगाडि बढाइनेछ ।
साथै सरकारले आगामी आवमा भैरहवाको जाँच चौकी र रसुवाको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गर्नुका साथै कन्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिने बताएको छ ।