कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कुन क्षेत्रमा कति कोटा ?

अनलाइनसमय |
५ साउन २०८३
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कुन क्षेत्रमा कति कोटा ?

काठमाडौं, ५ साउन । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।

कोरियाले ईपीएसअन्तर्गत ७ हजार २ सय कोटाका लागि आवेदन माग गरेको छ, जसमध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी ५ हजार, कृषि तथा पशुपालनमा २ हजार र सेवा र वन क्षेत्रका लागि १००/१०० जनाको कोटा निर्धारण गरिएको छ ।

परीक्षामा सहभागी हुन इच्छुक आवेदकले कुनै एक क्षेत्र मात्र छनोट गर्न पाउनेछन् । इच्छुक आवेदकहरूले जुलाई २७ देखि अगष्ट २ सम्म विभागको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भर्नुपर्नेछ । आवेदनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकहरू योग्य हुनेछन् ।

परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ, जुन आवेदन दिने दिनको नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार अनलाइन प्रणालीबाटै भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, फौजदारी अभियोगमा सजाय नपाएको, कोरियाबाट निष्कासित नभएको र रङ छुट्याउन सक्ने आवेदक मात्र परीक्षामा सहभागी हुन पाउनेछन् ।

परीक्षा ललितपुरको भैँसेपाटीस्थित युबीटी भवनमा कम्प्युटर÷ट्याब्लेट प्रणालीबाट सञ्चालन हुनेछ । कुल १०० पूर्णाङ्कको ५० मिनेट समय रहने परीक्षामा पढाइ र सुनाइ गरी ४० वटा वस्तुगत प्रश्न सोधिनेछ ।

भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया रोजगारीको शतप्रतिशत ग्यारेन्टी भने हुने छैन । प्रथम चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीहरूले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्याङ्कन समेत पार गरेपछि मात्रै अन्तिम रोस्टरमा सूचीकृत हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस