काठमाडौं, २५ जेठ । फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ७ः३७ बजे (जीएमटीअनुसार राति ११ः३७ बजे) आएको भूकम्प फिलिपिन्सको दक्षिणी मुख्य टापु मिन्दानाओस्थित जनरल सान्तोस सहरको तटवर्ती क्षेत्रमा केन्द्रित भएको थियो । प्रहरीका अनुसार भूकम्पमा कम्तीमा १२९ जना घाइते भएका छन् ।
भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानलगायत क्षेत्रका केही देशहरूले सुनामी चेतावनी जारी गरेका थिए । यद्यपि अधिकांश चेतावनी हाल फिर्ता लिइसकिएको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ भल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर थियो ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा राहत कार्यमा परिचालन गर्न निर्देशन दिएको बताएका छन् । उनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान तथा उच्च भूभागतर्फ जान आग्रह गरेका छन् ।