काठमाडौं, २५ जेठ । सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट तयार गरिएको ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र–२०८३’ आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादकाबीच औपचारिक रूपमा जारी गरिएको छ ।
उक्त श्वेतपत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदाप्रेमी भीम विक्रम थापाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य आषिश गजुरेललाई औपचारिक रूपमा हस्तान्तरण गरे । श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक सामरिक पहिचान र पर्या–पर्यटनलाई राष्ट्रिय नीति एवं बजेटमा समेट्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वेतपत्रमा सिन्धुलीगढी, हरिहरपुरगढी र ऐतिहासिक ढुङ्गेबजार क्षेत्रमा पुरातात्विक मर्यादा विपरीत भइरहेका आधुनिक भौतिक निर्माण र जथाभाबी सिमेन्टको प्रयोगलाई तत्काल रोक्ने माग गरिएको छ । पुराना बङ्कर, कोतघर, मन्दिर तथा रैथाने काठे बार्दलीहरूलाई ’जस्ताको तस्तै’ संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै इतिहासविद्हरूको तथ्यका आधारमा सिन्धुलीगढी युद्धको वास्तविक विजय तिथिलाई नै आधिकारिक रूपमा स्थापित गरी आगामी वर्षदेखि भव्य रूपमा ’विजय दिवस’ मनाउन पालिकाहरूले नीतिगत निर्णय गर्नुपर्ने सङ्कल्प पारित गरिएको छ । स्वेतपत्रमा सुनकोशीमा अवैध क्रसर दोहन रोकी साहसिक राफ्टिङ र माझी समुदायको डुङ्गा सफारी, मरिणमा दनुवार हस्तकलाका लागि ‘डिजिटल क्राफ्टिङ ल्याब’, चुरेमा चरा अवलोकन ट्रेल र बीपी राजमार्गमा बिचौलिया–मुक्त ’स्मार्ट हाटबजार’ सञ्चालन गर्ने विषयलाई बजेटमा समेट्न पालिकाहरूलाई आग्रह गरिएको छ । यस्तै कार्यक्रममा होटल एसोसिएसन सिन्धुलीका अध्यक्ष चन्द्र देश श्रेष्ठले जिल्लाका सम्पदाहरूको संरक्षण गर्दै दिगो पर्यटन विकास र ग्रीन हस्पिटालिटीका लागि वर्षभरी सञ्चालन गरिने विशेष पर्यटन प्रवद्र्धन कार्यतालिका बनाएर काम अघि बढाउने घोषणा गरे ।

सिन्धुलीको प्रबर्धनका लागि बर्षैभरि विविभन्न कार्यक्रम गर्ने तालिका अघि सारिएको छ । जस अनुसार असोज १५ मा सिन्धुलीगढी विजय उत्सवमा ’ग्रीन हस्पिटालिटी’ अभिमुखीकरण र परम्परागत/आदिवासी (माझी /दनुवार) खानाका परिकारहरूको देशव्यापी प्रवद्र्धन गर्ने मङ्सिर÷पुसमा गोलन्जोर र फिक्कलका जुनार उत्पादक किसानहरूसँग सिधै साझेदारी गरी ’जुनार बगैँचा भ्रमण’ प्याकेज सहजीकरण, माघमा सिन्धुलीगढीका किल्लाहरूलाई आधार बनाएर ‘फोर्ट स्टेज राइड“ साइक्लिङ व्यवस्थापन गरिने, फागुनमा मरिण, हरिहरपुरगढी र सुनकोशी क्षेत्रका होमस्टे र होटलहरूमा ३ दिने विशेष आतिथ्य (ज्यकउष्तबष्तिथ) तालिम संचालन गर्ने योजना छ । गर्मी हुने वैशाख÷जेठमा फिक्कल र महाभारतका डाँडाहरूमा रिमोट कामदार आकर्षण गर्न ’वर्क फ्रम नेचर’ प्याकेजको संस्थागत सुरुवात गर्ने योजना अघिसारिएको छ ।
समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र होटल एसोसिएसन सिन्धुलीको संयुक्त आयोजनामा सम्पन्न यस ऐतिहासिक कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरू, योजना अधिकृतहरू, पर्यटन व्यवसायी, सम्पदा अभियन्ता र नागरिक समाजका प्रतिनिधिहरूको सघन ऐक्यबद्धता र सक्रिय सहभागिता रहेको थियो ।
यस श्वेतपत्रको जारी सिन्धुलीको पहिचान, इतिहास र प्रकृतिलाई विकासको नाममा गुमाउन नदिने नागरिक सङ्कल्पको प्रतीक हो । यसले जिल्लाको दिगो पर्यटन नीतिनिर्माणमा एक नयाँ अध्यायको सुरुवात गरेको छ ।