काठमाडौं, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएका छन् । सोमबार मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् ।
आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक महिनाभित्र सार्ने निर्देशन दिएको न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर, दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् ।
आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ । तर यस्तो प्रक्रिया भने अपनाउन नसकिएको अस्पतालका चिकित्सक बताउँछन् ।
डा. बस्नेतले पुरानो भवनको आकस्मिक कक्ष निकै साँधुरो भएका कारण बिरामीले सहज रूपमा सेवा पाउन नसकेको बताए । उनले भने, ‘मन्त्रीज्यूले निरीक्षणको क्रममा सार्नका लागि निर्देशन दिनुभएको छ । भवन विभागका इन्जिनियरलाई कसरी आकस्मिक कक्षलाई सार्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’