काठमाडौं, ३० चैत । संयुक्त राज्य अमेरिकी सेनाले सोमवारबाट इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्न सुरु गरिने जनाएको छ । उक्त नाकाबन्दी अमेरिकाको पूर्वीय समयानुसार सोमवार १०ः०० (१४ः०० जीएमटी) बजेदेखि सुरु हुने बताइएको छ ।
यद्यपि होर्मुज जलमार्ग हुँदै अन्य देशबाट आवतजावत गर्ने पानीजहाजहरूलाई ‘बाधा नपु¥याउने’ भनिएको छ । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ’ट्रूथ सोशल’मा अमेरिकी जलसेनाले उक्त महत्त्वपूर्ण जलमार्ग प्रवेश गर्न वा बाहिर निस्किन खोज्ने जहाजहरूलाई नाकाबन्दी गर्ने जनाएका थिए ।
बढ्दो तनावका कारण तेलको मूल्य फेरि १०० डलरभन्दा माथि पुगेको छ । बीबीसीका अनुसार अमेरिकी क्रुड आठ प्रतिशतले बढेर १०४.२४ डलर प्रतिब्यारेल पुगेको छ । ब्रेन्ट क्रुडको मूल्य सात प्रतिशतले बढेर १०२.२९ डलर प्रतिब्यारेल पुगेको छ । युद्ध सुरु हुनुअघि तेलको मूल्य ७० डलरको आसपास रहेको थियो । यसले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा गम्भीर असर पार्ने आशंका उब्जाएको छ ।
यसैगरी, ट्रम्पले इरान वार्तामा फर्किन्छ कि फर्किँदैन भन्ने कुरामा आफूलाई ‘चासो नभएको’ बताएका छन् । उनले पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएको कारण इरानले ‘आफ्नो परमाणु महत्वाकांक्षा त्याग्न नचाहेको’ बताए ।
यता इरानले कुनै सैन्य जहाज उक्त समुद्री मार्ग नजिक आए भने त्यसलाई ‘कडा रूपमा सामना गरिने’ चेतावनी दिएको छ । त्यस्तै, त्यहाँका संसद सभामुखले इरान ‘धम्कीमा झुक्ने छैन’ भनेका छन् ।
इरानका विदेश मन्त्रीका अनुसार, पाकिस्तानमा दुवै पक्ष सम्झौताको ‘एकदमै नजिक’ पुगेका थिए, तर पछि अमेरिकाले ‘अत्यधिक माग’ राख्दै आफ्नो अडान परिवर्तन गरेको आरोप लगाइएको छ ।
हर्मुज जलडमरूमध्य विश्वको एक अत्यन्त महत्वपूर्ण जलमार्ग हो, जहाँबाट करिब २०% विश्वको तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुन्छ । यसको भौगोलिक अवस्थाका कारण इरानले यसलाई दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएको छ, कहिलेकाहीँ जहाजहरूलाई रोकेर तेलको मूल्य बढाउने गरेको छ ।