काठमाडौं, ३० चैत । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको ५० प्रतिशत अर्थात १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो, तसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।