नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा ६०० रुपैयाँसम्म तिर्नुपर्छ शुल्क, कस्तो गाडीलाई कति ?

अनलाइनसमय |
२७ चैत २०८२
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा ६०० रुपैयाँसम्म तिर्नुपर्छ शुल्क, कस्तो गाडीलाई कति ?

काठमाडौं, २७ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । नयाँ दरअनुसार काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ ।

काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीका लागि ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । त्यस्तै, मिनी बस र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ र बाहिरिँदा ८० रुपैयाँ कायम गरिएको छ । ठूला बस र सिंगल रियर एक्सल भएका ट्रकलाई काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।

भारी उपकरण तथा मल्टी एक्सल ट्रकका लागि सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको राजपत्रमा उल्लेख छ ।

दुई पाङ्ग्रे सवारीका हकमा भने सुरुङमार्ग प्रयोग गर्न पाइने वा नपाइने र शुल्क लाग्ने वा नलाग्नेबारे सूचनामा केही खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस