काठमाडौं, २७ चैत । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (अप्रिल २०२६) अनुसार नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा सुस्त रहने प्रक्षेपण गरिएको छ ।
एडिबीका अनुसार वर्ष २०२६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडिपी) वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष २०२५ मा ४.६ प्रतिशत थियो ।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले नागरिक अशान्ति, राजनीतिक अनिश्चितता तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण आर्थिक गतिविधि प्रभावित भई वृद्धि सुस्त रहने बताए । उनका अनुसार राजनीतिक स्थायित्व फर्किएमा अर्थतन्त्रमा सुधार आउने र लगानीकर्ताको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।
एडिबीले आगामी आर्थिक वर्ष २०२७ मा भने आर्थिक सुधार हुने संकेत गरेको छ । आन्तरिक मागमा वृद्धि, जलविद्युत् निर्यात र पर्यटन क्षेत्र सुदृढ हुने अपेक्षासँगै जीडिपी वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
मुद्रास्फितितर्फ वर्ष २०२६ मा उपभोक्ता मुद्रास्फिति दर ३.७ प्रतिशत रहने र आर्थिक गतिविधिमा सुधारसँगै २०२७ मा बढेर ४.५ प्रतिशत पुग्ने अनुमान छ ।
त्यसैगरी, मध्यपूर्वको द्वन्द्वले नेपालको बाह्य क्षेत्रलाई समेत प्रभावित पार्ने देखिएको छ । विप्रेषण आप्रवाह र निर्यात वृद्धिमा कमी आउन सक्ने भन्दै चालु आर्थिक वर्षमा चालु खाता बचत जीडिपीको ७.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको ६.७ प्रतिशतभन्दा केही उच्च भए पनि दीर्घकालीन रूपमा दबाबमा पर्ने संकेत गरिएको छ । आगामी वर्ष २०२७ मा भने आयात खर्च बढ्ने, पर्यटन प्रभावित हुने तथा आप्रवासनमा अस्थायी अवरोधका कारण चालु खाता बचत घटेर ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।