मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ : ओली

अनलाइनसमय |
२६ चैत २०८२
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ : ओली

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् ।

बिहीबार हिरासतमुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको बताएका छन् ।

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन् ।

आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेता तथा सञ्चारकर्मीप्रति उनले आभार व्यक्त गरेका छन् । साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

साथै ओलीले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् । ‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले लेखेका छन्, ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु ।’

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस