काठमाडौं, २६ चैत । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो, तसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद शेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।