काठमाडौं, २६ चैत । काठमाडौंस्थित रसियन हाउसमा ‘रुसमा नेपाल अध्ययन’ विषयक एकदिने गोष्ठी मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रम शैली थिएटर र रसियन हाउसको संयुक्त आयोजनामा गरिएको हो ।
नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा आयोजित यस कार्यक्रममा दुई देशबीचको सम्बन्ध अझ मजबुत रहेको र आगामी दिनमा संस्कृति, शिक्षा र विकासका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेपालस्थित रुसी दूतावासका कार्यवाहक प्रमुख रिनचेन रक्षाएभले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सांस्कृतिक र शैक्षिक सहकार्य महत्वपूर्ण रहेको बताए ।
मुख्य वक्ता प्रा. डा. जङ्गबहादुर चौहानले नेपाल र रुसबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धबारे विस्तृत जानकारी दिएका थिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मस्को भ्रमणलाई सांस्कृतिक कूटनीतिमा महत्वपूर्ण ऐतिहासिक घटना भएको उल्लेख गरे । साथै, विगतमा रुसमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा देश निर्माणमा ठूलो योगदान दिएको पनि उनले बताए ।
त्यस्तै, नवराज बुढाथोकीले शैली थिएटरद्वारा मञ्चन गरिएका रुसी नाटकबारे प्रस्तुति दिएका थिए । उनले रसियन हाउस र शैली थिएटरबीच १७ वर्षदेखि चलिरहेको सहकार्यले सांस्कृतिक आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । आगामी दिनमा पनि यस सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले शैली थिएटरको योगदानको प्रशंसा गर्दै प्रा. चौहानलाई धन्यवाद दिइन् । उनले नेपाल र रुसबीचको दीर्घकालीन सहकार्यलाई अझ विस्तार गर्ने र शिक्षा तथा सांस्कृतिक क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।