काठमाडौं, २५ चैत । सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा जारी ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
२३ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे । यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल यही चैत २८ गते हुनेछ ।
विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ । भरौल गोल्डकपमा सहभागिताले टोलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास गरिएको छ ।
प्रतियोगितामा नेपाल, भारत र मलेसियाका क्लबहरूको सहभागिता रहेको छ । विशेषगरी विदेशी टोलीको उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ ।
विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै, यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।