काठमाडौ., २५ चैत । सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को मिति सारिएको छ । यसअघि कम्पनीले २०८३ साल वैशाख २ गतेदेखि आईपीओ खुला गर्ने तयारी गरेको भए पनि अब वैशाख ३ गतेबाट मात्र आवेदन खुल्ने भएको हो ।
सरकारको गृह मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार सरकारी कार्यालयहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय भएपछि सोही कारण देखाउँदै कम्पनीले निष्काशन तालिका संशोधन गरेको जनाएको छ ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर वितरण गरिसकेको छ । त्यस्तै, कर्मचारीका लागि १ लाख ७१ हजार ६०० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख १४ हजार ५०० कित्ता शेयर पनि बाँडफाँट भइसकेको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो, जसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ हुन्छ। प्रति कित्ता १०० रुपैयाँ अंकित दर कायम गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति बैशाख ८ गते तोकिएको छ। यदि सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा म्याद बैशाख १७ गतेसम्म थपिनेछ ।