काठमाडौं, २४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋण स्वीकार गरेकोमा सरकारप्रति कटाक्ष गरेका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले सरकारसँग जवाफ मागेका हुन् ।
‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ’, उनले प्रश्न गरेका छन्, ‘हिजो विरोध किन? आज स्वीकार किन ?’
दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता भएको उनले स्विकार गरेका छन् । तर, पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले नै अहिले संसदमा स्पष्ट नीति र प्राथमिकतासमेत नराखी ऋण लिइरहेको उनको भनाइ छ । यद्यपि, सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक रहेको उनले बताएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको डिजिटल पूर्वाधार र दीगो विकासका लागि विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट कुल १८५ मिलियन अमेरिकी डलर (करिब साढे २७ अर्ब रुपैयाँ) बराबरको वैदेशिक ऋण स्वीकृत गरेको थियो । जसअनुसार विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर र एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गरिनेछ ।