अब बैंक पनि साताको ५ दिन मात्रै खुल्ने, सेवा अवधि ९ देखि ४ बजे

अनलाइनसमय |
२३ चैत २०८२
अब बैंक पनि साताको ५ दिन मात्रै खुल्ने, सेवा अवधि ९ देखि ४ बजे

काठमाडौं, २३ चैत । अब बैंक तथा वित्तीय संस्था सातामा ५ दिन मात्र खुल्ने भएका छन् । नेपाल सरकारको निर्णय अनुसार बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गरेका हुन् ।

मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ । यो व्यवस्था २०८२ चैत २३ गते (आज)देखि कार्यान्वयनमा आइसकेको छ ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ । केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले ९ बजेदेखि बैंकिङ कारोबार सुरु गरिसकेका छन् ।

यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा भने समय तालिका थप परिवर्तन हुनेछ । सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ ।

नेपाल सरकार मन्त्रिपरिषदले चैत २२ गते निर्णय गर्दै शनिबार र आइतबार बिदा कायम गरेको छ भने शुक्रबार पूर्ण अवधिभर सेवा प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकमा नेपाल सरकारको निर्णय सोमबार देखि नै लागु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस