काठमाडौं, २३ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलवारसम्म सबै जहाजका लागि होर्मुज स्ट्रेट खुला नगरे इरानका विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले त्यस्तो धम्की दिएका हुन् ।
उनले पहिले झैँ ‘नर्क बनाउने’ चेतावनी दोहो¥याए तर उनले अमेरिकी सञ्चारमाध्यमहरूसँग तेहरानसँग सम्झौता हुने ‘राम्रो सम्भावना’ रहेको पनि बताए । इरानले भने उनको धम्कीलाई ‘असहाय, तनावग्रस्त र मूर्खतापूर्ण’ भन्दै खारेज गरेको छ ।
इरानमा खसालिएको अमेरिकी लडाकु विमानका अर्को चालकदलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको घोषणापछि ट्रम्पले यो धम्की दिएका हुन् ।
अमेरिका र इरान दुवैले दक्षिण–पश्चिमी इरानको पहाडी क्षेत्रमा हराइरहेका अमेरिकी सैनिकलाई खोजिरहेका थिए । एफ–१५ विमानका पाइलटलाई भने शुक्रबार विमान खसालिएलगत्तै उद्धार गरिएको थियो । एक महिनाभन्दा बढी समयदेखि जारी युद्धबीच यो घटना भएको हो ।
इरानले अमेरिका र इजरायलका हवाई आक्रमणको जवाफस्वरूप उनीहरूको सहयोगी खाडी राष्ट्रहरूमा आक्रमण जारी राखेको छ ।
इरानले होर्मुज स्ट्रेटमा आवतजावतलाई पनि उल्लेखनीय रूपमा अवरोध गरेको छ। यो विश्वकै महत्त्वपूर्ण जलमार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास ओसारपसार हुन्छ । यसले विश्वभर तेलको मूल्य अकासिँदै गएको छ र मुद्रास्फीति बढ्ने चिन्ता समेत बढाएको छ ।
यस अवरोधपछि ट्रम्पले मार्च महिनामा जलमार्ग पुनः खोल्नका लागि समयसीमा तोक्ने श्रृङ्खला घोषणा गरेका थिए । आइतबार उनले आफ्नो ‘ट्रुथ सोसियल’ प्लेटफर्ममार्फत फेरि यही माग दोहो¥याए ।
यसअघि पनि २१ मार्चमा उनले ४८ घण्टाभित्र जलमार्ग ‘पूर्ण रूपमा खुला’ नभए इरानका विद्युत् केन्द्र ‘पूर्ण रूपमा नष्ट’ गर्ने धम्की दिएका थिए । त्यसको दुई दिनपछि उनले ‘राम्रा र उत्पादक’ वार्ता भइरहेको भन्दै आक्रमण ५ दिन सारेर २८ मार्चसम्म पु¥याएका थिए । तर इरानले यस्तो कुनै वार्ता नभएको दाबी गरेको थियो ।
त्यसपछि पनि समयसीमा १० दिन थपेर ६ अप्रिलसम्म पु¥याइएको थियो, जुन अहिलेको नयाँ ४८ घण्टे समयसीमाको आधार बनेको छ ।
इरानी राष्ट्रपति कार्यालयका प्रवक्ता महदी तबाताबाईले भने युद्धले पु¥याएको क्षतिको क्षतिपूर्ति पाउन ट्रान्जिट शुल्कको केही भाग प्रयोग गरिएपछि मात्र होर्मुज स्ट्रेट पुनः खोलिने बताएका छन् । इरानले जहाजहरूबाट शुल्क लिने योजना बनाएको संकेत दिएको छ ।
इरानी केन्द्रीय सैन्य कमाण्डका जनरल अली अब्दोल्लाही अलीआबादीले ट्रम्पको धम्कीलाई ‘असहाय, असन्तुलित र मूर्खतापूर्ण’ भन्दै अमेरिका विरुद्ध “नर्कका ढोका खुल्ने” चेतावनी दिएका छन् ।
आक्रमण जारी
यसैबीच इजरायलले इरानका नागरिक पूर्वाधारमा आक्रमण जारी राखेको छ । शनिबार एक पेट्रोकेमिकल कारखाना निशाना बनाइएको थियो र रक्षा अधिकारीहरूका अनुसार अर्को हप्ता थप ऊर्जा संरचनामा आक्रमणका लागि अमेरिकी स्वीकृति पर्खिरहेको छ ।
अमेरिका–इजरायलको आक्रमणले आइतबार दक्षिण–पश्चिमी इरानस्थित कासेम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थललाई पनि लक्षित बनाएको छ । इरानले पनि इजरायल र अमेरिकी सहयोगी राष्ट्रहरूमा ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ ।
इजरायलको हाइफामा रहेको एक आवासीय भवन आइतबार प्रत्यक्ष रूपमा ब्यालिस्टिक मिसाइलले हानेपछि चार जना घाइते भएका छन् । त्यसै दिन अबुधाबीका अधिकारीहरूले इरानी मिसाइलको अवशेषका कारण लागेको आगो निभाउन प्रयास गरिरहेका थिए, जसले बोरोउज पेट्रोकेमिकल प्लान्टमा क्षति पु¥याएको थियो ।
कुवेतले इरानी ड्रोन आक्रमणबाट तेल र पेट्रोकेमिकल संरचनामा गम्भीर क्षति पुगेको जनाएको छ । बहरेनमा पनि औद्योगिक तथा इन्धन प्लान्टहरू निशाना बनाइएका छन् । बीबीसी