काठमाडौं, २० चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको ‘आर्टिमिस २’ले इन्जिन परीक्षणको महत्त्वपूर्ण चरण पार गरेर चन्द्रमातर्फको यात्रा सुरु गरेको छ ।
अमेरिकाको फ्लोरिडाबाड उडेको २४ घण्टासम्म पृथ्वीको फन्को लगाएको यो यानले ’इन्जिन बर्न’को चरण पार गरेर पृथ्वीको कक्षबाट चन्द्रमातर्फ अघि बढेको हो ।
चार जना अन्तरिक्षयात्री सवार ’ओरिअन’ क्याप्सुललाई चन्द्रमातर्फको यात्रामा धकेल्ने उक्त इन्जिन छ मिनेटभन्दा कम समयमै ’बर्न’ भएको थियो । नासाले अन्तरिक्षयात्रीहरूलाई पृथ्वीको कक्षबाट बाहिर धकेल्ने काम सफल भएको जनाएको छ ।
क्यानडाका अन्तरिक्ष यात्री जेरिमी ह्यान्सेनले इन्जिन बर्न सम्पन्न भएपछि आफ्नो पहिलो सन्देशमा भनेकाछन , ‘मानवजातिले फेरि एकपटक देखाएको छ कि हामी के गर्न सक्षम छौँ ।’
अन्तरिक्षबाट गरिएको लाइभ प्रसारणमा कमाण्डर रिड वाइजम्यानले पृथ्वीको ‘ध्रुवदेखि ध्रुवसम्म’ देखिएको ‘अद्भुत’ दृश्यको वर्णन गरे ।
कुल १० दिनको यात्रामा अन्तरिक्षयात्रीहरूले अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा तय गर्ने छन् । उनीहरूले २ लाख १९ हजार ६३९ नटिकल माइल यात्रा तय गर्ने आकलन गरिएको छ ।
यसअघि सन् १९७०मा ’अपोलो’ मिशनका १३ जना अन्तरिक्षयात्रीहरूले २ लाख १७ हजार नटिकल माइल यात्रा तय गरेका थिए। ’अपोलो’ मिशनहरूमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए ।
’ओरिअन’ अमेरिकी समय अनुसार सोमवार चन्द्रमा नजिक पुग्ने छ । त्यसभन्दा पनि केही परसम्म पुगेर यसले आफ्नो फिर्ती यात्रा तय गर्ने छ ।
अन्तरिक्षबाट सूर्यग्रहण अवलोकन
‘आर्टिमिस २’को चालकदलले आफ्नो यात्राको क्रममा सोमबार चन्द्रमाको नजिक पुग्दा करिब एक घण्टाको सूर्यग्रहण समेत अवलोकन गर्नेछन् ।
बिहीबार बिहान पूर्णिमा परेको थियो र यस्तो अवस्थामा प्रायः चन्द्रग्रहण हुन्छ—जब पृथ्वी सूर्य र चन्द्रमाबीच आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । तर ओरियन स्पेसक्राफ्ट बाट हेर्दा चन्द्रमाले सूर्यलाई छोप्नेछ, जसले गर्दा सूर्य देखिँदैन ।
यस समयमा चालकदलले प्रायः अँध्यारो चन्द्रमा देख्नेछन् । उनीहरूले चन्द्रमामा उल्कापिण्ड ठोक्किँदा देखिने प्रकाशका चमक, चन्द्रमाको किनारमा उड्ने धुलो, साथै ग्रहहरूजस्ता गहिरो अन्तरिक्षका वस्तुहरू पनि अवलोकन गर्न सक्नेछन् ।
उनीहरूले सूर्यको सबैभन्दा बाहिरी तह ‘सौर कोरोना’ पनि देख्नेछन् । १९६० को दशकमा पहिलो मानवयुक्त अन्तरिक्ष मिसनहरू सुरु भएदेखि अहिलेसम्म, अन्तरिक्षबाट सूर्यग्रहण हेर्ने अवसर पाउने मानिसहरू निकै थोरै मात्र छन् ।