१.४ प्रतिशत विन्दुले घट्यो घरजग्गा धितो सुरक्षण कर्जा

अनलाइनसमय |
२० चैत २०८२
१.४ प्रतिशत विन्दुले घट्यो घरजग्गा धितो सुरक्षण कर्जा

काठमाडौं, २० चैत । गत आर्थिक वर्ष (आव) २०८१/८२ को फागुनको तुलनामा चालू आवको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गा धितो सुरक्षणमा लगानी घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा ६३ दशमलव ८ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ४ प्रतिशत विन्दुले कम हो । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको ६५ दशमलव २ प्रतिशत रहेको थियो ।

त्यस्तै, चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । गत वर्षको फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश १४.५ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ४ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६ प्रतिशत अर्थात् ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६ दशमलव ७ प्रतिशतले बढेको छ ।

२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव ७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ ।
फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.० प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेकोछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस