इराकबाट अमेरिकी पत्रकार शेली किटल्सनको अपहरण

अनलाइनसमय |
१८ चैत २०८२
इराकबाट अमेरिकी पत्रकार शेली किटल्सनको अपहरण

काठमाडौं, १८ चैत । इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकार शेली किटल्सन अपहरणमा परेकी छन् । मंगलबार उनको अपहरण भएको विभिन्न स्रोत र उनी कार्यरत सञ्चार संस्थाले पुष्टि गरेका सीएनएनले जनाएको छ ।

अमेरिकी सरकार उक्त घटनाबारे निगरानी गरिरहेको र उनको सुरक्षित रिहाइका लागि इराकी पक्षसँग समन्वय गरिरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । अपहरण कसले ग¥यो भन्ने स्पष्ट नभए पनि स्रोतहरूका अनुसार उनलाई इरानी समर्थित सशस्त्र समूह कताइब हिज्बुल्लाहबाट अपहरणको खतरा रहेको चेतावनी दिइएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री डिलन जोन्सनले एक्समा लेख्दै भनेका छन्, “अपहरणमा संलग्न भएको विश्वास गरिएको कताइब हिज्बुल्लाहसँग सम्बन्धित एक व्यक्तिलाई इराकी अधिकारीहरूले पक्राउ गरेका छन् ।”

किटल्सन मध्यपूर्व र अफगानिस्तान सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकार हुन् । एक स्रोतका अनुसार, अमेरिकी सरकारले हालै उनलाई कताइब हिज्बुल्लाहद्वारा अपहरण वा हत्या गर्ने सम्भावित योजनाबारे चेतावनी दिएको थियो । त्यो बेला उनी इराकमै रिपोर्टिङ गरिरहेकी थिइन् ।

अर्को स्रोतका अनुसार, अमेरिकी र इराकी अधिकारीहरूले उनको विरुद्ध इरानी समर्थित समूहबाट आउने अपहरण वा हत्या सम्बन्धी धम्कीहरू ट्र्याक गरिरहेका थिए र पछिल्ला हप्ताहरूमा उनलाई पटक–पटक देश छोड्न आग्रह गरेका थिए ।

जोन्सनलले भने, “विदेश मन्त्रालयले किटल्सनलाई खतरा सम्बन्धी चेतावनी दिने आफ्नो कर्तव्य पूरा गरिसकेको छ र उनलाई सकेसम्म छिटो मुक्त गराउन फेडरल ब्युरो अफ इन्भेस्टिगेशनसँग समन्वय जारी राख्नेछौं,” तर उनले थप विवरण खुलाएनन् ।

अमेरिकामा आधारित समाचार संस्था अल–मोनिटरले मंगलबार किटल्सनको अपहरण पुष्टि गर्दै उनको “सुरक्षित र तत्काल रिहाइ” को माग गरेको छ । उसले विज्ञप्तिमा भनेको छ, “हामी यस अपहरणबाट गम्भीर रूपमा चिन्तित छौं । हामी उनको सुरक्षित र तत्काल रिहाइको माग गर्दछौं । क्षेत्रबाट उनको महत्वपूर्ण रिपोर्टिङमा हामी उनको साथमा छौं र उनी छिट्टै फर्किएर आफ्नो काम जारी राखून् भन्ने कामना गर्छौं ।”

इराकको गृह मन्त्रालयले यसअघि दिएको विज्ञप्तिमा मंगलबार साँझ बग्दादको केन्द्र भागबाट एक विदेशी महिला पत्रकारलाई अज्ञात व्यक्तिहरूले अपहरण गरेको जनाएको थियो । इराकी सुरक्षा बलहरूले एक जना संदिग्धलाई पक्राउ गरी अपहरणमा प्रयोग गरिएको एक सवारी साधन पनि नियन्त्रणमा लिएको बताएका छन् । साथै, दोषीहरूको खोजी गरी उनलाई सुरक्षित रूपमा मुक्त गराउन अभियान सञ्चालन गरिएको जनाइएको छ ।

इराकस्थित अमेरिकी दूतावासले इरानसँगको द्वन्द्व बढेपछि फेब्रुअरी अन्त्यदेखि अमेरिकी नागरिकहरूलाई बारम्बार इराक छोड्न चेतावनी दिँदै आएको छ । “कुनै पनि कारणले इराक यात्रा नगर्नुहोस् । यदि त्यहाँ हुनुहुन्छ भने तुरुन्तै बाहिरिनुहोस्,” दूतावासले पछिल्लो चेतावनीमा भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस