नयाँ प्रधानमन्त्रीको रुपमा साइतमै शपथ लिँदै बालेन

अनलाइनसमय |
१३ चैत २०८२
नयाँ प्रधानमन्त्रीको रुपमा साइतमै शपथ लिँदै बालेन

काठमाडौं, १३ चैत । आज मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रपति कार्यालय शीतल निवासमा मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको हो ।

शपथ अघि नै उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी सार्वजनिक गरिनेछ । शपथ ग्रहण समारोहलाई विशेष बनाउने क्रममा सात जना ब्राह्मणबाट शंखनाद, १०८ बटुकद्वारा स्वस्तिवाचन तथा १०७ भिक्षुहरूद्वारा अष्टमंगल पाठ गरिने तयारी गरिएको छ ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो । उक्त समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद् सदस्यहरूको पनि शपथ गराइने कार्यक्रम रहेको बुझिएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । सोही दलले बिहीबार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस